बागमतीलाई मौलिक अवस्थामा फर्काउने प्रयास
Published:
by .काठमाडौँ– सफाइ गरी पहिलेकै मौलिक अवस्थामा बागमतीलाई फर्काउन विभिन्न उपायहरू आउने गरेका छन् ।
यस्तै उपायमध्ये बागमतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि प्रभावकारी हुनसक्ने उपाय सुझाइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बागमती नदीसहित यसका सहायक खोलाहरूमा फलामको जाली जडान गरी पहिलेको भन्दा सहज रूपमा बागमती सफाइ गर्न सकिने बताएका छन् ।
बगेर जाने ठोस फोहोरलाई जाली मार्फत रोकी सहज रूपमा ती फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्न सकिने उनको सुझाव छ ।
प्रमुख चित्रकारले भने, ‘जाली राखेर नदी र खोलाको सफाइ गर्न सकिए पनि यसका लागि जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।’
काठमाडौँको नदी र खोलामा बढी मात्रामा ठोस फोहोर बग्ने भएको हुनाले पानी परेको बेला जालीका कारणले फोहोर जम्मा भई नदी थुनिन गई सम्बन्धित क्षेत्रमा बाढी समेत आउन सक्ने भएकाले जालीमा जम्मा भएका फोहोर हटाउनका लागि निरन्तर अवलोकन गरी जनशक्ति र उपकरण तैनाथी अवस्थामा राख्नुपर्ने बताइएको छ ।
गोरखापत्र दैनिकबाट ।
Comments