Sajhamanch Archive

बीबीसी इँटा उद्योग विरुद्ध दुहागढीबासी आन्दोलित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । झापाको दुहागढीमा सञ्चालित बीबीसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेको भन्दैं तत्काल उद्योग बन्द गर्नुपर्ने माग गदैं स्थानीयबासी आन्दोलित भएका छन् ।

स्थानीयबासी र ईंटाभट्टा सञ्चालकबीच भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै उद्योग तत्काल बन्द गर्न माग गरेका हुन् । मेचीनगर नगरपालिका १४ नम्बर वडामा सञ्चालन रहेको बीबीसी ईंटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि गोपीराज मैनालीको अध्यक्षतामा संघर्ष समिति गठन गरेर स्थानीय आन्दोलित भएका हुन् ।

शुरुमा उद्योग सञ्चालनका क्रममा स्थानीयबासी, तात्कालिन दुहागढी गाविस र उद्योग सञ्चालकबीच १० बुँदे सम्झौता भएको थियो । सम्झौताको १ नम्बर बुँदामै स्थानीयबासी, समाजसेवी लगायतले ईंटा उद्योगबाट वातावरण प्रदुषण भएको ठहर गरेमा जुनसुकै बेला पनि उद्योग बन्दका लागि कारवाही अघि बढाउन सकिने उल्लेख छ ।

सम्झौताको पहिलो बुँदामै यस्तो लेखिएको र यो बुँदामा तीनैपक्ष सहमत भएको तथा कार्यान्वयन नभएका कारण उद्योग बन्द गर्नुको विकल्प नरहेको संघर्ष समितिका अध्यक्ष गोपीराज मैनालीको भनाई छ ।

‘१० वर्ष अघि स्थानीयबासी, तात्कालिन दुहागढी गाविस र उद्योग सञ्चालकबीच सम्झौता र सहमतीमा इँटाभट्टा सञ्चालनमा आएको थियो’ संघर्ष समितिका अध्यक्ष मैनालीले भने । ‘तर, उद्योग सञ्चालकले तीनै पक्षबीच भएको सम्झौता सहमति कहिल्यै कार्यान्वयन गरेनन् । जसका कारण वरिपरिका जग्गा जमिन मरुभूमि भए, केही पनि उतपादन नहुने भयो जग्गा जमिन बाँझै भए अनि इँटाभटट बन्द गर्न माग गदैं आन्दोलित हुन बाध्य भयौं । ’

उद्योग सञ्चालकले सञ्चालन गर्नुपूर्व यहाँका स्थानीयसँग गरेको कुनै पनि सम्झौता पूरा नगरेका कारण बाध्य भएर संघर्षमा जानुपरेको स्थानीय बाल सुवोधिनी आधारभूत विद्यालयका प्रधानाध्यापक विश्व थापा बताउँछन् । उनका अनुसार एक सूत्रीय माग राखेर स्थानीयबासी आन्दोलित भएका छन् । आफ्ना माग पूरा नभएसम्म कुनै हालतमा आन्दोलनबाट पछि नहट्ने उनको भनाई छ ।

तीन पक्षबीच भएको सहमतिमा उद्योगमा कार्यरत मजदूरहरुलाई शौचालय र खानेपानीको व्यवस्था गरी सरसफाइमा ध्यान दिनुपर्ने उल्लेख भए पनि व्यवस्थित शौचालय नहुँदा भट्टामा काम गर्ने मजदूरहरुले खुला ठाउँमा दिशा पिसाव गर्ने गरेका कारण वातावरण प्रदुषण भएको थापाको भनाई छ ।

प्रदुषणका कारण श्वासप्रश्वास, मुटु क्यानसरजस्ता गम्भीर रोगबाट यस अवधिमा आधा दर्जन व्यक्तिहरुको ज्यान गएको छ भने सयौं व्यक्तिहरु यस्तो रोगबाट ग्रसित भएका छन् । तीन पक्षबीच भएको सम्झौतामा कम्तिमा वर्षमा एकपटक साविक दुहागढी ८ का स्थानीयबासीको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बुँदा समेटिएको छ ।

सम्बन्धित पक्षले कार्यान्वयनमा सक्रियता नदेखाएको र उसको लापरवाहीले माथिको समस्या आएको रेडक्रसकर्मी समेत रहेका प्रधानाध्यापक थापाले बताए । ‘सम्झौतामा चाहिँ लेखियो’ थापाले भने ‘अहिलेसम्म स्थानीयले यो सुविधा पाएनन् ।’

अहिले उद्योग सञ्चालक को हुन् ? स्थानीयबासी बेखवर रहेको थापा बताउँछन् । २०६७ साल भदौ २१ गते वातावरण उपसमिति दुहागढीले आयोजना गरेको छलफलमा उद्योग प्रतिनिधिका रुपमा छिरिङ लामा र होमनाथ गौतमले हस्ताक्षर गरेका छन् । यसअघि भएको सम्झौता २०६६ साल बैशाख २५ गते भएको आगोलागीका कारण कागजात नष्ट भएको र यही बैठकले त्यही सम्झौता मान्य हुने नवीकरण गरेको थियो ।

दुहागढी १४ नम्बर का करिब डेढसय व्यक्तिले तत्काल उद्योग बन्द गर्न माग गर्दै १४ नम्बर वडा कार्यालयमा वडाध्यक्ष शंकरप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । उक्त ज्ञापन पत्रमा शुरुमा उद्योग सञ्चालक र स्थानीयबासीबीच भएको सम्झौता पत्रसमेत वडा कार्यालयलाई उपलब्ध गराएका छन् ।

मागको सुनवाई नभएमा स्थानीयबासीले उक्त उद्योग बन्द गरी कानूनी उपचारको बाटोमा अघि बढ्ने चेतावनी दिएका छन् । ज्ञापन पत्रमा भट्टाको वरिपरी रहेको जग्गामा लगाइएको हिउँदेबाली धुलोका कारण उत्पादन दिन नसक्ने भएकाले किसानले आर्थिक व्यवभार व्यहोर्नु परेको, स्थानीयबासीको स्वच्छ, सफा हावा लिन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनु परेको उल्लेख छ ।

आन्दोलतरत पक्षले पहिलो बुँदामा तत्काल उद्योग बन्द गर्न माग गरेको छ । स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै कार्यान्वयनका लागि मेचीनगर नगरपालिकामा पठाएको वडाध्यक्ष पोखरेलको भनाई छ । यस विषयमा वडा कार्यालय गम्भीर बनेको वडाध्यक्ष पोखरेलले बताए ।
‘हाम्रो वडामा वातावरण विज्ञ नभएका कारण ज्ञापनपत्र वडाले मेचीनगर नगरपालिाकमा पठाएको हो’ वडाध्यक्ष पोखरेलले भने ‘नगरपालिकाको वातावरण शाखाले बुझेर वडालाई जे सुझाव दिन्छ त्यही अनुसार सम्बन्धित पक्षलाई राखेर हामी छलफल गर्नेछौ ।’

उद्योगबाट उत्पादित इँटा दुहागढी साविक ८ हाल १४ नम्बर वडाका स्थानीयलाई कूल मूल्यको २१ प्रतिशत छुटमा उपलब्ध गराउने, उद्योगको सिमानासँग जोडिएका जग्गाहरुको संरक्षणमा उद्योग सञ्चालकहरुले ध्यान पुर्याउनु पर्ने, स्थानीय निकाय विभिन्न संघ–संस्था एवम् विद्यालयहरुलाई भैतिक निर्माणका लागि इँटा उपलब्ध गराउनु पर्ने, उद्योग सञ्चालन गर्दा दाउराको प्रयोग नगरी कोइलाको प्रयोग गर्नुपर्ने, बाटोमा भएका खाल्डा खुल्डीमा मिक्स गिट्टी प्रयोग गरी मर्मत तथा सम्भार गर्नुपर्ने माग छ ।

यस्तै, ईंटाका टुक्रा प्रयोग गर्न नपाईने, उद्योगमा स्थानीयलाई रोजगारको अवसर प्रदान गर्नुपर्ने तथा कम्तिमा एकपटक उद्योगी स्थानीयबासी र स्थानीय तहबीच सहमति अनुसार काम भए नभएको समिक्षा गर्नुपर्ने सम्झौता तीनैपक्ष बीच भएको थियो । तर, १० वर्षमा एउटा पनि कार्यान्वयन नभएको स्थानीयको आरोप छ ।

यदि समयमै उद्योग सञ्चालक र स्थानीयबासीबीचको विवाद किनारा नलगाउने हो भने भविष्यमा यसले गम्भीर खतरा निम्त्याउन सक्ने स्थानीयको भनाई छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *