Sajhamanch Archive

टेबल टेनिसको प्रदेशस्तरीय छनोट सुरु, झापाली कुस्ती खेलाडी सम्मानित

Published: (Updated: ) in खेलकुद by .

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि झापाको काँकरभिट्टामा सुरु भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो । मेची सामुदायिक भवनमा सुरु तीन दिने उक्त प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन्् ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आचार्य, नगर उपप्रमुख मीना उप्रेती, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापालगायते शुभकामना दिए ।
सो कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रमुख, जनप्रतिनिधि, विभिन्न सामाजिक तथा साहित्यिक सङ्घ संस्थाका प्रतिनिधि, विभिन्न खेल विधाका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीको उपस्थिति थियो ।

प्रतियोगिता आयोजक समिति अध्यक्ष रविन नगरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह आयोजक समिति कोषाध्यक्ष धर्मराज शिवाकोटी र सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरे ।

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुरु प्रतियोगितामा धनकुटा जिल्ला बाहेक प्रदेश अन्तरगतका १३ वटा जिल्लाबाट ६५ जना खेलाडीको सहभागिता छ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका ३३ पुरुष र ३२ जना महिला खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिएका टेबल टेनिसका वरिष्ठ प्रशिक्षक शिवनारायण श्रेष्ठले बताए ।

यही शनिबार समापन हुने प्रदेशस्तरीय प्रतियोगितामा पुरुष र महिला खेलाडीबीच एकल प्रतिष्पर्धा हुने र छानिएका ५ महिला तथा ५ पुरुष खेलाडीले राष्ट्रिय प्र्रतियोगितामा प्रतिष्पर्धा गर्नेेछन् ।

प्रदेशस्तरीय खेलाडी छनोटका लागि टेबल टेनिसका राष्ट्रिय खेलाडी रोशन दत्त संयोजक रहेको १२ सदस्यीय निर्णायक समिति गठन गरिएको छ ।
यसैबीच, सो कार्यक्रममा कुस्ती खेलको एक नम्बर प्रदेशस्तरीय प्रतियोगिताका विजेता झापाली खेलाडीलाई सम्मान गरिएको छ । सुनसरीको इनरुवास्थित जेल फिल्डमा भएको प्रतियोगितामा प्रतिष्पर्धा गरी स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीलाई सम्मान गरिएको हो ।

विजेता कुस्ती खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष नगरकोटी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापालगायतले नगदराशीसहित सम्मान गरेका हुन् । उक्त प्रतियोगितामा स्वर्ण पदक जित्ने झापाका ६ जना कुस्ती खेलाडीले आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाका खेलाडीले ६ रजत र एक कास्य पदक प्राप्त गरेका कुस्ती सङ्घ झापाले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि देशभर विभिन्न खेल विधामा प्रदेशस्तरीय छनोट जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *