टेबल टेनिसका प्रदेशस्तरीय खेलाडी छनोट
Published:
by .काँकरभिट्टा । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टेबल टेनिसका एक नम्बर प्रदेशस्तरीय खेलाडी छनोट भएका छन् ।
गत बिहीबारदेखि सुरु भई शनिबार सम्पन्न प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् ।
प्रतियोगिताबाट छानिएकामा मेन्स सिंगलतर्फ मोरङका बोधित डिसी, सुनसरीका प्रतिक थापा, मोरङका महावीर चौधरी, सुनसरीका अनमोल विक र मोरङका सन्तोष काफ्ले छन् ।
त्यस्तै, वुमेन्स सिंगलतर्फ सुनसरीकी गीता भूजेल, मोरङकी एलिना राई, सुनसरीकी सोनम ठाकुर, रुपा लिम्बू र सोलुखुम्बुकी धनमाया राई छनोट भएका हुन् । प्रतियोगितामा मेन्स सिंगलतर्फ डिसीले प्रथम, थापाले द्धितीय, चौधरी र विकले तृतीय तथा काफ्लेले पाचौं स्थान हाँसिगरे भने वुमेन्स सिंगलतर्फ भूजेल प्रथम, राई द्धितीय, ठाकुर र लिम्बू तृतीय तथा राई पाँचौं भएका थिए ।
उनीहरुले आगामी चैत २२ गतेदेखि नेपालगञ्जमा सुरु हुने आठौं राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रदेशस्तरीय छनोटका निर्णायक एवम् मोरङ टेबल टेनिस सङ्घका अध्यक्ष रोशन दत्तले बताए ।
उनका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा राष्ट्रिय प्रतियोगिताका लागि मेन्स सिंगलतर्फ भोजपुरका नामसाङ राई र वुमेन्स सिंगलतर्फ खोटाङकी निकीता श्रेष्ठ वैकल्पिकमा परेका छन् ।
उनीहरुलाई प्रमुख अतिथि प्रदेश साँसद् श्रीप्रसाद मैनाली,सभापति झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, कार्यालय प्रमुख टहलदास मैनाली, टेबल टेनिसका वरिष्ठ प्रशिक्षक शिवनारायण श्रेष्ठलगायतले प्रमाण पत्र वितरण गर्दै बधाई तथा शुभकामना दिए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको संयोजनमा काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा टेबल टेनिसको प्रदेशस्तरीय प्रतियोगिता भएको थियो । प्रतियोगितामा धनकुटा जिल्ला बाहेक प्रदेश अन्तरगतका १३ वटा जिल्लाबाट छनोट भएका ६५ जना खेलाडीले भाग लिएका थिए ।
Comments