Sajhamanch Archive

चारआली – केचना सडकको गुणस्तरमाथि प्रश्न, नियामनकारी निकाय मौन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठे पनि नियामनकारी निकाय मौन रहेको पाइएको छ ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो । सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहिन ईटा प्रयोग गरिरहेको पाइएको छ ।

नाली निर्माणका क्रममा अधिकांश स्थलमा निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको हो । सडक निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत सरकारी निकाय मौन देखिएका छन् । जसको बल निर्माण व्यवसायीमाथि थपिदा गुणस्तरमा मनोमानी चलिरहेको छ ।

निर्माण पक्षले नाली बनाउने, कल्वट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहे पनि परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जाने गरेका छन् । गुणस्तरमाथि निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिने गरेको छ । दुई खण्ड गरेर काम भइरहेको सडक निर्माण कम्पनीले निर्माण गरिरहेका नाली तथा कल्र्भटका काम गुणस्तरहिन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको काम समेत गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न सकिरहेको छैन ।

यसैगरी हुलाकी सडक परियोजना अन्र्तगत पूर्व—पश्चिम खण्डको भद्रपुरको झापाचौक—राजगढ क्षेत्रमा निर्माण गरिएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम पनि सुरू भएको छ । गत वर्ष गरिएको सो क्षेत्रको कालोपत्रे गुणस्तरहिन भएकै कारण भत्कन थाले पनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल गरेका छैनन् । राज्य पक्षको नियामक उदासिन हुँदा सडक निर्माणमा निर्माण ठेकेदारको मनोमानी भइरहेको छ ।

यस विषयमा सम्पर्क गर्दा हुलाकी सडक परियोजना क्षेत्रीय कार्यालय इटहरीका प्रमुख विजय महतोले फोन स्वीकार गरेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *