नेपाली श्रमिकको हकहित संरक्षणमा जोड : ज्ञवाली
Published:
by .काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिएका छन् ।
कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उनले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
मन्त्री ज्ञवालीले आफ्ना कतारी समकक्षीलाई नेपालमा लगानीका निम्ति कतारका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न तथा आगामी चैतमा काठमाडौँमा आयोजना हुने दोस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिताका निम्ति आग्रह गरे ।
मन्त्रीद्वयबिच नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउने, पारस्परिक हित र चासोका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महत्वका विविध विषयमा विचारविमर्श भएको थियो ।
त्यसैगरी मन्त्री ज्ञवालीसँग बेलायतका विदेश राज्यमन्त्री अहमद विम्वल्डनले भेट गरे । त्यस अवसरमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा मानवअधिकार परिषद्का विषयवस्तु र प्राथमिकताबारे छलफल भएको थियो ।
परराष्ट्रमन्त्रीले मानवअधिकारप्रतिको नेपालको प्रतिबद्धताबारे परिषद् बैठकमा आज जानकारी दिनेछन् भने मृत्युदण्ड सम्बन्धी उच्चस्तरीय बहसमा भाग लिने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य हो ।
Comments