सँधै हँसिला देखिन्थे रबीन्द्र अधिकारी
Published:
by .काठमाडौँ । स्वर्गीय रबीन्द्र अधिकारीलाई रिसाएको देख्नेहरु एकदमै कम छन् । किनकी, उनी हत्तपत्त रिसाउँदैनथे । चित्त नबुझेको कुरालाई पनि हाँस्दै नकार्ने र आफ्नो मत राख्ने उनको स्वभाव थियो ।
रबीन्द्र अधिकारीका अहिलेसम्म सार्वजनिक भएका जति पनि तस्वीरहरु छन्, त्यहाँ उनी हँसिला नै छन् । उनलाई नजिकबाट चिन्नेहरु मात्र होइन उनका शुभेच्छुक र मतदाताहरु अधिकारीको निधन भएको खबरबाट निकै मर्माहत भएका छन् । सबैले उनको हँसिलो अनुसार सम्झिरहेका छन् ।
उनी पाथीभरा दर्शनका लागि जानुअघि दीपक उप्रेतीले खिचेको तस्वीरमा पनि निकै हँसिला देखिन्छन् । स्थानीयले उनलाई स्वागतस्वरुप लगाइदिएको माला गलामै छ । तर, त्यो हँसिलो अनुसार बुधबार दिउँसो साढे १ बजेदेखि सँधैका लागि अस्ताएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित ७ जनाको निधन भएको छ ।
दुर्घटनाको केहीबेर अघि उनलाई आठराई गाउँपालिकाले स्वागत गरेको थियो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि ताप्लेजुङ पुगेको थियो । त्यहाँबाट फर्कने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् ।
मन्दिर दर्शनपछि पुजारीले मन्त्री अधिकारीलाई चिया पिउन अनुरोध गरेका थिए । बाहिर चिसो भएको भन्दै मन्त्री अधिकारीले हेलिकप्टरमै बसेर चिया पिएर फर्केर थिए । मन्दिरबाट फर्केको केहीबेरमै हेलिकप्टर दुर्घटना भयो र मन्त्री अधिकारी सँधैका लागि विदा भए ।
Comments