Sajhamanch Archive

गोलधापका बालबालिकालाई पत्रकारिता तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

हल्दिबारी । समृद्धिका पालक, हल्दिबारीका बालक अभियान अन्तरगत हल्दिबारी गाउँपालिका वडा नं. १ गोलधापमा आजदेखि बालबालिकाको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु गरिएको छ ।

सो वडाका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी रहेको उज्यालो गोलधाप बालक्लबको आयोजनामा ३ दिने भित्तेपत्रिका तयारी, समाचार लेखन तथा प्रकाशन सम्बन्धी तालिम शुरु भएको हो ।

बालबालिकाको मनोविज्ञान अनुसार औपचारिक शिक्षासँगै हेरक क्षेत्रमा अग्रसर गराउँदै क्षमता विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा क्लबका सदस्यसहित ४५ जनाको सहभागिता रहेको छ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटाले बालबालिका भनेका भोलिको नेतृत्व भएकाले उनीहरुलाई क्षमतावान बनाउनु आफूहरुको कर्तव्य भएको बताए ।

तालिममा सहभागी बालबालिकालाई लक्षित गर्दै वडाध्यक्ष सापकोटाले यहाँ सिकेको सीपलाई गाउँमा, आफू अध्ययन गर्ने विधालयमा प्रयोग गर्दै नमूना वडा बनाउने आफ्नो अभियानमा साथ दिन भने । उनले मुलुकको जिम्मेवारी आजका बालबालिकाले पनि पाउने भएकाले सबैलाइ साथ लिएर काम गर्न आग्रह गरे ।

क्लबका अध्यक्ष सुस्मिता पराजुलीको अध्यक्षता रहेको तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सरिता न्यौपाने, वडासदस्य कुमारी विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।

पहिलो दिनको तालिममा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले पत्रकारिताका आधारभूत पक्षहरुबारे सहजीकरण गर्दै सञ्चारण गर्दा कसरी गल्ती हुँदो रहेछ भन्ने विषयमा दुईवटा खेल खेलाएका थिए । तीन दिने तालिममा विभिन्न सन्चारमाध्यममा कार्यरत पत्रकारहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक सरोज पौडेलले बताएका छन् । ।गत माघमा स्थापना भएको वडास्तरीय बालक्लबमा २१ सदस्य समिति रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *