Sajhamanch Archive

नेवाः समाजको एक वर्ष रचनात्मक रहेको अध्यक्षको दावी

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । नेवा समाज समिति मेचीनगरको ३०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । मेचीनगर ६ स्थित भिमसेन मन्दिर परिसरमा सम्पन्न साधारण सभाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।

साधारणसभा उद्घाटन पछि नगरप्रमुख आचार्यले हरेक जातजाति, वर्ग र समुदायले एकर्काको रितीरिवाज, कला र संस्कृतिको सम्मान गर्दै अघि बढनुपर्ने बताए । कसैले पनि यो जात उ जात भन्दै हेलाको भावले हेर्न नहुने उनको भनाईं छ ।

समितिका अध्यक्ष कमल गुभाजुले साधारणसभाको अध्यक्षता गर्दै संस्थाले एकवर्षमा गरेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४२ सालमा अग्रज नेवाहरुले संस्कृति संरक्षण र जातीय एकताको लागि नेवा समाज समिति गठन गरेपछि गौरीलाल श्रेष्ठको संयोजनमा गणेश भिमसेन मन्दिरको निर्माण कार्य नेपाल संवत ११२३ मा सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो कार्यकालमा समाजको सम्पूर्ण कार्यलाई चुस्त दुरुस्त राख्न ११ वटा टोल समितिहरुको निर्माण, मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौँको प्रशिक्षकद्वारा एक महिने लाखे–धिमे बाजा प्रशिक्षण, सामुहिक इही र ब्रतबन्ध चण्डी पाठ, बडादर्शैँको उपलक्ष्यमा नौं दिनसम्म गणेश भिमसेन मन्दिरमा चण्डी पाठ र जमरा राख्ने कार्यलाई निरन्तरता दिइएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा नेवा सामुदायिक भवन निर्माण समितिका आर्थिक संयोजक उदयकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । समाजले काँकरभिट्टाका सम्पूर्ण बासिन्दाले उपयोग गर्न सक्नेगरी सामुदायिक भवन निर्माण कार्य जारी रहेको बताए । मेचीनगर नगरपालिकाबाट अनुमति लिएर २०७४ पुस २२ गते शिलान्यास गरी समाजका सदस्यहरुबाट आर्थिक सहयोग संकलन गरेर निर्माणाधिन भवनमा १८ लाख रुपैयाँ जति लगानी गरिसकेको श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।

समाजका सचिव उषा श्रेष्ठले सञ्चालन र उपाध्यक्ष मुक्ति श्रेष्ठले स्वागत गरेको कार्यक्रममा मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नेवा देय दवुका केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, नेकपाका नेता देवकुमार राई एनआइसी एशिया बैंक काँकरभिट्टाका शाखा प्रवन्धक तीर्थबहादुर प्रधानलगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *