धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड
Published:
by .काठमाडौँ । अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।
नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई बिना ठोस आधार उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो ।
नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाली कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको भन्दै विदेशी कम्पनीका जहाजलाई त्यसै रोक्न नमिल्ने जानकारी दिए ।
गत आइतबार इथियोपिया र गत अक्टोबर २९ मा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएको थियो । पाँच महिनाको अवधिमा एउटै सिरिजका दुई विमानको दुर्घटना समान देखिएपछि यसको सुरक्षालाई लिएर संसारभरी प्रश्न उब्जिएको हो । दुवै विमान उचाइ लिएलगत्तै दुर्घटनामा परेका र पाइलटले समस्या आएको टावरलाई जानकारी गराएका थिए ।
Comments