संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !
Published: (Updated: )
by .कृषि पेशामा आश्रित भए पनि नेपाल परिवारको आफ्नै जमिन थिएन । अर्काको अधियाँ खेती गर्दा उब्जिएको र आफ्नो भागमा परेको अन्नले हातमुख जोर्नु पथ्र्यो । तर पनि वर्षभरि पुर्याउन धौधौ हुन्थ्यो । हाल अर्जुनधारा ८ झापामा बसोबास गरी बिर्तामोडको पुरानो भद्रपुररोड किनारको सटरमा सेनिटरी पसल गर्ने रमेश नेपाल (३८)–को बाल्यकाल उति सुखद थिएन । बाल्यवस्थामात्र होइन, ६ वर्षअघिसम्म उनी कसैको कामदारभन्दा माथि उठ्न सकेका थिएनन् । मोजमस्ती र रमाइलो त पर……. कै कुरा । तर आज उनको दिनचर्या फेरिएको छ ।
झापाको ज्यमिरगढीमा पर्ने बिचार्नीमा २०३७ सालमा बालकृष्ण र कृष्णमाया नेपालको माइलो सन्तानको रुपमा रमेशको जन्म भएको हो । आफ्नो जीवनको पूर्वार्धबारे रमेश भन्छन् ‘‘आज सानोतिनो पसल खोलेर मैले मेरो सानो परिवार चलाउँदैछु । तर मेरो बाल्यकाल, युवावस्था र परिवारको तत्कालीन पीडा सुन्नुभयो भने तपाईंहरु आँङ जिरिङ्ग पार्नुहुन्छ ।’
हामीले उहाँको विगत कोट्याउन चाह्यौं । कुनै पनि मानिस विगतबाटै पाठ सिकेर रचनात्मक मोडमा आइपुग्छ वा उसलाई अवसरले पछ्याउँछ । रमेशले आफ्नो विगतदेखि वर्तमानलाई केलाउँदै साझामञ्चलाई बेलिविस्तार लगाए । ‘‘आफ्नो जमिन नभएपनि बुवाआमाले कृषिपेशा बाहेक केही गर्नु हुन्थेन । अधियाँ, मजदुरी जे भए पनि कृषिक्षेत्रमा उहाँहरु लाग्नुहुन्थ्यो । यहीबीचमा झापाको दमकस्थित बेलडाँगीमा भुटानी शरणार्थी क्याम्प बस्यो ।
सोको एउटा अफिसमा बुवा बालकृष्णले जागिर पाउनु भयो । सोही जागिरको क्रममा बुवा डिप्रेसनको रोगी बनेर दिमाग शून्यको स्थिति बन्यो । त्यही कारण उहाँले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको क्षण अहिले पनि झलझली याद आउँछ ।’’ रमेश भन्छन् ‘घाँटी छिन्न अलिकति मात्र बाँकी थियो, हाम्रो दिन बलियो भएकाले होला बुवालाई बचाउन सक्यौं । त्यसबेला गरीबलाई हेर्ने दृष्टिकोण अहिलेजस्तो बनेको थिएन । परिवारको मुख्य मान्छे अनि कमाउने मान्छेको अवस्था त्यस्तो भएपछि समाजले हेप्ने त भयो नै !’’
जसरी हुन्छ पेट त पाल्नै थियो, बाँच्नु त थियो नै । त्यसैले परिवारमा काम गर्न सक्नेहरु सबैले केही न केही गरेका थियौं । मैले पनि नजिकैको जंगलमा गएर दाउरा बटुल्थेँ र ४५ मिनेट हिंड्दा पुगिने भारतको अधिकारी भन्ने ठाउँमा लगेर धेरैपटक दाउरा बेचेर घर चलाउन सहयोग गरेको थिएँ ।
त्यसोगर्दा पनि परिवारको गर्जो टार्न निकै मुस्किल परेकाले आमाले लगाएको सुनको गहना बेचेर, घरका भाँडावर्तन बेचेर पेट पालिएको थियो । घरमा रहेका र बेच्न मिल्ने सर सामान रहिन्जेल बेचेर परिवारको पेट भराइएको थियो । यसबाट बुवाले जोडेको सबै सम्पती त्यहीँ सकिएको रमेश सुनाउँछन् ।
त्यसपछि २०५२ सालमा शनिश्चरेका एक बुढाथोकीको घरमा सपरिवार बास र कामका लागि अनुबन्ध भएछन् । बुढाथोकी परिवार सम्भ्रान्त मानिन्थ्यो । तिनको भैंसी चराउन, घाँसपात गर्न, गाई बस्तु स्याहारमा रमेशको दैनिकी चल्न थाल्यो । घरको सबै काम सकेर उनी स्कूल पढ्न जान्थे । उनले सुनेका थिए, ठूलाबडाको घर राम्रो हुन्छ । तर उनले आफ्नो त्यो बुझाई गलत सावित भएको पाए । उनलाई बुढाथोकीको घरमा बसेर काम गरिन्जेल तातो तातो साझी भात खाएको सम्झाना पनि छैन । बिहानको भात बेलुका र बेलुकाको भात बिहानमात्र खान बाध्य थिए उनी । आखिर गोठमा काम गर्ने गोठालो त थिए रमेश …. ।
त्यसरी नै दिनहरु बित्दै गए । समस्याहरु समाधान गर्दै अगाडि बढेका उनलाई त्यो दुःख दुःखै लागेन, किनभने उनलाई जसरी भए पनि १० कक्षा पढेर एसएलसी पास गर्नु थियो । त्यो पनि जसोतसो पार लगाए । १२ कक्षामा पढ्दै गर्दा रमेशलाई लाग्यो, दाइलेमात्र काम गरेर हाम्रो परिवारको हेरचाह गरिरहेका छन्, अब त मपनि केही गर्न सक्छु नि भनेर काम खोज्न थाले ।
बिर्तामोडका प्रत्येकजसो पसलमा काम माग्दै भौंतारिएका रमेशलाई निराशा कै बीचमा आशाको दियो बल्यो । धेरैवटा पसलमा काम खोज्दै हिंडेका रमेशले झण्डै हप्ता दिन पछि महिनाको ५०० रुपैयाँ तलबमा काम पाए । तर गर्नुपर्ने काम पसलको नभएर मारवाडीको घरमा थियो ।
रमेश भन्छन्, ‘मलाई भन्न कुनै लाज वा धक लाग्दैन । मलाई बाध्यता थियो । बाध्य भएपछि मान्छेले जे पनि गर्छ । मारवाडीको त्यो घरमा मैले खाना खाएको जुठो भाँडा माझ्नेदेखि लुगा धुने सबै काम गर्नुपर्ने थियो ।’
तीन महिनासम्म सो घरको काम गरेपछि रमेशले बिर्तामोड कै नारायणी सेनिटरी पसलमा काम शुरु गरे । त्यो मिति थियो, २०५५ सालको मंसीर महिना । महिनाको एक हजार रुपैयाँ तलबबाट काम सुरु गरेका रमेशले २०६९ सालसम्म त्यहाँ काम गरे । महिनाको १४ हजार रुपैयाँ तलब पाउँदासम्म उनले नारायणी सेनिटरीमा नै काम गरिरहे, सिकिरहे ।
२०६२ सालमा उनको विवाहको चर्चा भयो । न आफ्नो जग्गा छ, न घर नै छ । एउटा पसलमा काम गर्ने मान्छेलाई को केटी दिन तयार हुन्थे र ? जन्म, विवाह र मृत्यू भावीले लेखिदिएको हुन्छ भने झैँ एकवर्ष अगाडि प्रस्ताव गरिएकी केटीसँग नै उनले विवाह गर्न पाए ।
प्रमिला प्याकुरेलसँग विवाह हुनुमा दाइ चन्द्र सुवेदीको महत्वपूर्ण हात छ । प्रमिलासँग विवाह पश्चातका दिनहरु धेरै सहज हुन थालेको रमेशको अनुभव छ । एउटा पुरुषको भाग्य र भविष्य निर्धारणमा महिलाको महत्वपूर्ण हात हुन्छ भन्ने आहानलाई रमेश नेपालको जीवनमा मेल खान पुगेको पाइन्छ ।
जे हुन्छ सायद राम्रैका लागि हुन्छ भने झैँ २०६९ सालमा नारायणी सेनिटरीको मालिक्नीसँग भनाभन भयो । ‘जहाँ १५ वर्षदेखि काम गरिरहेको थिएँ, राम्रै तलब पनि समात्दै थिएँ, झगडाका कारण काम छाडेँ । मानसिक तनाव भयो । विदेश जाने निर्णय गरेँ, श्रीमतीले ५ हजार रूपैयाँ बचाएर राखेकी रहिछन् । त्यही पैसा बोकेर पासपोर्ट बनाउन भद्रपुरतर्फ लागेँ । तर बिर्तामोडबाट दक्षिणतर्फ पाइला नै बढेनन्’ रमेश सुनाउँछन् ।
आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण समय बिताएको बिर्तामोडजस्तो ठाउँ छाडेर अन्यत्र जाने साहस उनमा आएन रे ! इस्टमित्र र साथीभाइ धेरै कमाइसकेको तर पैसामात्र कमाउन नसकेको उनको अनुमान थियो । विदेश जाने पासपोर्ट बनाउन हिडेका रमेशले २०६९ साल मंसीर ५ गते बिर्तामोडमा सिनेटरी पसल खोल्ने निर्णयमा पुगे । ‘आफूले जाने गरेको सेनिटरीको व्यवसाय थियो, यसैको पसल खोल्ने निर्णयमा पुगेँ’ रमेशले बताए ।
‘पसल खोल्ने निर्णयमा त पुगेँ तर आफूसँग यसका लागि पैसा थिएन । मन मिल्ने केही साथीहरुलाई सुनाएँ । उहाँहरूले मलाई ठूलो सहयोग गर्नुभयो । कसैले र्याक बनाउन पैसा सापटी दिनुभयो, कसैले सेनिटरीको सामान सप्लाई गर्ने होलसेलरलाई भनेर जमानी बसिदिनु भयो । मैले आफन्त र साथीभाइसँग पनि केही पैसा मागेँ र एकजनासँग पार्टनरसीपमा पसल सुरु गरियो’ ।
तर पार्टनरसीप पनि लामो टिकेन र विगत केही वर्षदेखि रमेशले एक्लै पसल सञ्चालन गर्दै आएका छन् । यो अवधिमा उनको व्यवसायमा लगभग ३० लाख रुपैयाँको हाराहारीको सम्पत्ती भएको छ । पसल बाहेक अर्जुनधारा र बिर्तामोडमा घर बनाउन मिल्ने गरी दुईवटा भिटा पनि जोडिसकेका छन् । सोही जमिनमा रमेशले घर पनि बनाउँदै छन् ।
रमेशले सञ्चालन गरेको सेनिटरी पसलमा प्लम्बर र कामदारहरु समेत गरेर ७ जनाले रोजगारी पाएका छन् । ६–७ वर्ष अघि उनी नारायणी सेनिटरीमा काम गर्दा बेलाबखत भोग्नु परेको अभद्र व्यवहार स्मरण गर्छन् र उनले मातहत कामदारलाई सद्भावपूर्ण व्यवहार गरिरहन्छन् । कामदारबाटै रोजगारदाता भएका रमेशलाई थाहा छ, कसलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने ।
आज सानो भए पनि आफ्नै स्वामित्वको पसल छ । रमेश कहिलेकहिँ विगतलाई सम्झिन्छन्, ‘घरमा विवाह जस्तो ठूलो कार्यक्रम हुँदासम्म हाम्रो परिवारलाई नबोलाउने छिमेकीहरु अहिले न्वारन, पास्नी, पूजामा पनि बोलाउन थालेका छन् । अहिले उनलाई जिन्दगी निक्कै रमाइलो लाग्न थालेको छ रे !’
रमेशका श्रीमती प्रमिला, एक छोरा र एक छोरी छन् । सन्तानलाई किताबी किरो मात्र बनाउन नहुने उनको विचार छ । सबैभन्दा पहिला छोराछोरीलाई व्यवहारिक ज्ञान दिएमा परिवार समृद्ध बन्ने उनको अनुभव छ । ‘अभिभावकले सन्तानलाई सबै कुराले भरिपूर्ण भन्दा पनि कहिलेकहिँ अभावको महशुस पनि गराउनु पर्ने रहेछ’ उनले आफ्नो बाल्यकालबाट यो महत्वपूर्ण शिक्षा पाएको बताउँछन् ।
व्यवसायीहरु राजु न्यौपाने र रविन्द्र भट्टराईलाई व्यवसायिक अभिभावक मान्ने रमेशलाई लाग्छ, जीवन संघर्षको साथसाथै भोगाई पनि हो । उनी आफूलाई अहिले भाग्यमानी भएको ठान्छन् रे ! ‘धेरै संघर्ष पछि थोरै भएपनि सफलता प्राप्त गर्दैछु र आरामको श्वास फेर्दैछु’ रमेश भन्छन् ।
‘मलाई जिन्दगीमा धेरै गर्नु छैन तर गरिब, दुःखी र समाजको लागि केही स्मरणीय योगदान गर्नुछ’ रमेश भन्छन्, ‘पैसाको अभावमा शिक्षाबाट कोही कसैले पनि बञ्चित हुन नपरोस् भन्ने सोचले सामाजिक कार्यमा अगाडि बढ्ने मेरो अभिष्ट छ ।’
Comments