बाह्रदशी उद्योग वाणिज्य संघको गठन
Published:
by .बाह्रदशी । झापाको बाह्रदशीस्थित राजगढ बजारका ब्यवसायीहरुले बाह्रदशी उद्योग वाणिज्य संघको स्थापना गरेका छन् ।
संघको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले गाउँ–गाउँमा ब्यवसायीको हक हितका लागि यस्ता वाणिज्य संघ खोलिनु व्यवसायीका लागि सुखद कुरा भएको बताए । बाह्रदशीका व्यवसायीहरु एक भएर अघि बढ्नुले देशभरका ब्यवसायीहरुलाई पनि एक भएर अघि बढ्न सन्देश दिएको खड्काको धारणा थियो ।
कार्यक्रममा प्रदेश १ का सदस्य बलराम कार्कीले राजगढ पुरानो बजार भएपनि यहाँ धेरै समयपछि मात्रै उद्योग वाणिज्य संघको स्थापना भएको हुँदा यहाँका व्यवसायी एक भएर अघि बढेको खण्डमा राजगढको विकास दु्रत गतिमा हुने तथा छरिएर रहेका सबै व्यवसायीलाई एकढिक्का हुन सुझाव दिए ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले अब राजगढका ब्यवसायीहरु समस्याको पोको बोकेर बिर्तामोड धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै कार्यसफलताको शुभकामना दिए । उनले ब्यवसायीका साझा समस्याका लागि देशभरका उद्योग वाणिज्य संघ एकभएर अघि बढ्नुपर्ने जिकिर गरे ।
नवस्थापित बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघको तर्फबाट बाह्रदशीका सबै ब्यवसायीहरुलाई तालिम दिने, अन्य सीपहरुमा अब्बल बनाउने तथा ब्यवसायलाई चुस्त दुरुस्त बनाउन वाणिज्य संघले पहल गर्ने प्रतिवद्धता जनाए ।
बाह्रदशी उद्योग वाणिज्य संघका उपाध्यक्ष रेनुका भूर्तेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जयनारायण आचार्यले गरेका थिए ।
जिल्लाकै कान्छो उद्योग वाणिज्य संघको रुपमा दर्ता भएको संघको अध्यक्षमा खगेन्द्रबहादुर कार्की, उपाध्यक्षमा रेनुका भूर्तेल, सचिवमा जयनारायण आचार्य, सहसचिवमा प्रकाश तामाङ र कोषाध्यक्षमा कृष्ण थापा रहेका छन् ।
संघका सदस्यहरुमा गोपी बाँस्तोला, सरुद्धिन मिया, टंक रसाइली, संजय साहा, जयबहादुर बुढाथोकी, महेन्द्र प्रसाई, विजयप्रकाश अधिकारी, गायत्री साहा, सुशिला राजवंशी, टोपेन्द्र राजवंशी, रमेशकुमार कानु र इन्द्रप्रसाद राजवंशी रहेका छन् ।
त्यस्तै लक्ष्मीप्रसाद न्यौपानेको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यमा खेमनाथ खरेल, विनोद साहा, लोकनाथ संग्रौला, महाविर पोद्दार र एल्ठू राजवंशीलाई समितिमा राखिएको छ ।
Comments