Sajhamanch Archive

बाढीले बगाएर भारत पुगेका गैँडा फिर्ता ल्याउन कठिन

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन । दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन सकेको छैन । ०७३ साउन अन्तिम साता आएको बाढीले बगाएको दश गैँडा उद्धार गरी ल्याइए तीन गैँडा ल्याउन नसकेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाउँदा गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको करिब एक वर्षपछि नेपाल छिरेको मौकामा अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हाल भारतीय भूमिमा रहेका गैँडा ल्याउन केही महिनाअघि पत्रचार गरिए पनि प्रतिउत्तर आएको छैन । निकुञ्जले परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ । यद्यपि भारतीय पक्षबाट जवाफ नआएकाले गैँडा ल्याउन नपाइएको ढकालले बताए ।

भारतीय अधिकारीले तीन गैँडा रहेको जनाएपछि निकुञ्जले पहल सुरु गरेको थियो । बाढीले गैँडासँगै अन्य जनावर पनि बगाएर भारत पु(याएको थियो । यस क्रममा साना वन्यजन्तु मरेको जनाइएको थियो ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ५ गैँडा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *