राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने
Published:
by .काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन्। प्रदेश-५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ। उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ। यस्तै, प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन हुनेछ। यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकुदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ।
प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
Comments