Sajhamanch Archive

खानेपानी सम्बन्धि अन्तरक्रिया

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । पानीबाट सर्ने रोग न्यूनिकरण गर्ने उद्देश्यलेमेचीनगर स्तरीय खानेपानी गुणस्तर निगरानी सम्बन्धि एकदिन अन्तरक्रिया कार्यक्रम सोमबार मेचीनगरमा सम्पन्न भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गदैं नगरप्रमुख विमल आचार्यले पानी पिउन मात्र नभई स्वास्थ्य जीवनको लागि पनि पानीको ठुलो महत्व हुने बताए ।

उनले आफ्ना जनतालाई शुद्ध सफा र स्वच्छ पानी उपलब्ध गराउनु सरकारको दायित्व भएकाले मेचीनगर आफ्ना नगरवासीलाई शुद्ध सफा र स्वच्छ पानी उपलब्ध गराउन चौवीसै घण्टा सक्रिय रहेको प्रष्ट पारेका थिए । उनले अझै पनि चेतना अभावका कारण पानीप्रति मानिसको गलत प्रयोग भएको बताए । उनले दैनिक रुपमा उपयोग गरिने खानेपानी कतिपय अवस्थामा पिउनका लागि योग्य नहुने जानकारी दिए । प्रदुषित खानेपानीमा संक्रमाक जीवाणु हुन सक्ने र त्यस्तो पानी पिउनाले हैजा, झाडापखला, आउ, जण्डिस तथा टाइफाइटजस्ता मानव स्वास्थ्यलाई असर पर्ने खालका रोगहरु समेत फैलिने भएकाले त्यसतर्फ नगरवासीलाई वेलैमा होस पुर्याउन नगरप्रमुख आचार्यले आग्रह गरे ।

केही वर्ष पहिलो जाजरकोटमा झाडापखला र विराटनगरमा हेपटाइटिस इ फैलिनुको मुख्य कारणहरु मध्ये दुषित खानेपानीको प्रयोग भएको भन्दैं नगरप्रमुख आचार्यले हामी पिउने पानी दुषित भए हाम्रो ज्यानसमेत जाने बताए । नगरमा वितरीत खानेपानीको गुणस्तरमा समस्या आउन नदिन तथा पिउने पानीकै कारण रोग लाग्न नदिन नगरका खानेपानी आयोजनाका सञ्चालक समितिहरुलाई नगरप्रमुख आचार्यले आग्रह गरेका थिए । उनले मानिसको जीवनमा दैनिकरुपम ाप्रयोग हुने खानेपानीको स्वाच्छताको परीक्षण गरी यसलाई निरन्तर पिउन योग्य र सुरक्षित बनाउन जरुरी रहेको बताए ।

आम जनताको स्वास्थ्य र जीवन सुधारका लागि सुरक्षित खानेपानीले ठूलो भूमिका खेलेको भन्दैं प्रमुख आचार्यले हाम्रो खानेपानी प्रणालीहरुको स्रोत क्षेत्रमा हुने क्रियाकलापबाट मुहानको पानी नै प्रदुषित हुने गरेको, कैयौं खानेपानी आयोजना तथा प्रणालीहरुको पानी मुहानमा सुरक्षित भएता पनि वितरण प्रणाली तथा पाइपलाइनहुदैं उपभोक्ताको मुख सम्म आइपुग्दा ठाउँ ठाउँमा प्रदुषित भएर विभिन्न प्रकारका रोग फैलिन सक्ने उनले बताए ।

स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले खानेपानी सुरक्षा योजनाका चरणहरूका बारेमा सहभागीहरुलाई जानकारी दिए । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कुनै एक सदस्य वा सेवा प्रदायक संस्थाको जिम्मेवार एक कर्मचारीको संयोजकत्वमा कम्तीमा ५ सदस्यहरू भएको खानेपानी सुरक्षा योजना टोली गठन हुन सक्ने व्यवस्था रहेको पौडेलले बताए । खानेपानी प्रणालीको विश्लेषण प्रणालीवाट वितरीत खानेपानी गुणस्तरयुक्त भएको कुरा आम उपभोक्तालाई प्रत्याभूति दिनु र सुरक्षित खानेपानीको महत्वबारे आम उपभोक्तालाई सचेत गराउनु सवैको दायित्व भएको उनको भनाई थियो ।

मुहानदेखि धारासम्म भ्रमण गरी प्रदूषण हुने अवस्था वा घटनाको पहिचान र विश्लेषण गरेर जोखिम निर्मूल गर्न आवश्यक नियन्त्रणका अधिकतम र न्यूनतम सीमाहरू निश्चित गर्ने तथा नियमित अनुगमन कार्यक्रम वनाउनुपर्नेमा पौडलले जोड दिए । खानेपानी सुरक्षा योजनाप्रति उपभोक्ताको सन्तुष्टि तथा स्वास्थ्यमा परेको प्रभाव पहिचान गर्ने तथा गुनासाहरू सुन्ने तथा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने समेत आजको आवश्यकता रहेको उनको भनाई थियो ।

प्राविधिकहरूले सञ्चालनको क्रममा गर्ने नियमित अनुगमनको क्रममा गर्न सकिने सुधार कार्य आफै गर्छन् नसकिने कार्य बारे खानेपानी सुरक्षा योजना टोलीलाई जानकारी दिन्छन् । नियन्त्रण का उपायहरूले काम नगरेको पाइएमा सुधारका कार्यक्रम वनाई जोखिमको स्तर हेरी सुधार गर्न उपभोक्ता समितिसँग समन्वय गर्ने । खानेपानी सुरक्षा योजना अन्तर्गत अपनाइएका नियन्त्रणका उपायहरू पानी सुरक्षित राख्न प्रभावकारी भएको कुरा समय समयमा पानी परीक्षण गरी प्रमाणित गर्ने । अनुगमन लगायत सम्पूर्ण क्रियाकलापका बारेमा लिखित अभिलेख राख्ने र तिनको प्रमाणीकरणको व्यवस्था गर्नेलगायतका विषयमा सहभागीलाई उनले जानकारी गराएका थिए ।

खानेपानी सुरक्षा योजना कार्यान्वयनको सिलसिलामा गरिएका सम्पूर्ण क्रियाकलापहरूको विवरण समेटेर एउटा प्रतिवेदन तयारी अवस्थामा राख्नुपर्ने बताउदैं पौडेलले यस प्रकारको प्रतिवेदन हरेक वर्ष अध्यावधिक गरी वितरण गर्ने, टोलीका सबै सदस्यहरूका कार्य विभाजन गर्ने, वर्षको दुई पटक खानेपानी सुरक्षा योजना टोलीका सम्पूर्ण सदस्यले सामूहिक रुपमा मुहान देखि धारा सम्म अनुगमन गर्ने, खानेपानी सुरक्षा योजनाका दश चरणहरू सम्पन्न गरी एक चक्र पूरा गरे पछि टोलीले गरिएका सम्पूर्ण कार्यको समीक्षा वर्षको एक पटक गरी आवश्यकता अनुसार संशोधन वा सुधार गर्ने र दस्तावेजलाई अध्यावधिक गर्ने, (सामान्य अवस्थामा छैंठो चरण ( अनुगमन)देखि यो चक्रलाई निरन्तरता दिइरहनु पर्ने,) पानीको गुणस्तर खस्केर आपातकालीन स्थिति देखा परेको बखत के कस्ता सुरक्षा उपाय अप्नाउन सकिन्छ त्यस बारे पनि योजना अध्यावधिक गर्नेलगायतका विषयमा उनले जानकारी गराएका थिए । ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक शशीकला राईले सञ्चालनसहित स्वगत गरेकी थिईन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *