Sajhamanch Archive

शिवसताक्षीमा सिरुवा पर्व बृहत साँस्कृतिक कार्यक्रम गरी मनाइने

Published: (Updated: ) in विविधा by .

झापा । झापाको शिवसताक्षी नगरपालिका ६ स्थित शिवगञ्जमा आगामी बैशाख २ गते सिरुवा पर्व तथा वृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

वर्षको अन्त्यलाई बिदाई गर्दै नव वर्ष २०७६ को आगमनलाई राजवंशी ताजपुरीया लगायत कोच जातिका समुदायका मानिसहरुले आफ्नो भाषा, सँस्कति तथा भेषभुषाको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । कोचिला गार्भुर फ्रन्ट शिवसताक्षी नगर कमिटीको आयोजनामा हुन लागेको कार्यक्रम गत वर्ष भन्दा ब्यवस्थित तवरले सञ्चालन गर्ने समितिको दाबी छ ।

शुक्रबार आयोजित पत्रकार भेटघाटमा परापुर्वकाल देखि कोच समुदायका मानिसहरुले मनाउदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामुहिक रुपमा मनाउदै आएको र यस वर्ष पनि बिषेश रौनक्ताका साथ कार्यक्रमको आयोजना गर्ने कोचिला गार्भुर फ्रन्टका अध्यक्ष सुरेश राजवंशीले बताए । कार्यक्रममा कोच जातिका ढुल्की नाच, हुदुरधुरा नाच, विभिन्न कोच भाषाका गितहरुको नृत्य, कोच समुदायका पोषाक तथा गरगहनाहरुको प्रदर्शनी समेत गरिने समितिले जनाएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कोचिला गार्भुर फ्रन्ट शिवसताक्षी नगर कमिटीका उपाध्यक्ष बलराम ताजपुरीयाले जानकारी दिए ।

कोच समुदायका मानिसहरुका लागी यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरीको रिस, रागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवी देवताहरुको पुजा गर्ने गरिन्छ । वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकोले आपशमा हिलो लगाएर काद सिरुवा खेल्ने प्रचलन रहको उपाध्यक्ष ताजपुरियाले बताए । सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोउल्हासका साथ रङ्गले खेलेर समापन गरिने उनले जानकारी दिए । हाल झापा र मोरङ्गमा गरी करीव ३ लाख ५० हजार कोच समुयका मानिसहरु रहेको अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *