Sajhamanch Archive

आज विश्व सम्पदा दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ ।आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।

काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् ।

२०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ । भूकम्पले ३२ जिल्लाका १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्ये अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । अति प्रभावित १४ जिल्लाका २ सय २१ सम्पदाको पुनर्निर्माण भैसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । अरु तीन सय सम्पदामा काम भैरहेको छ ।

काष्ठमण्डप, धरहरा, रानीपोखरी, बुङमतीको रातो मछिन्द्रनाथ लगाएतका मुख्य सम्पदा बनाउने काम भैरहेको छ । अरु बाँकी सम्पदा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । विभागले आगामी तीन वर्षभित्र बाँकी सबै सम्पदाको पुनर्निर्माण सक्ने योजना बनाएको पनि उहाँले जानकारी दिए। गौतम बुद्धको जन्मथलो लुम्बिनीमा भने भूकम्पले क्षति गरेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *