Sajhamanch Archive

मेचीनगरमा खोप गोष्ठी सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिका झापामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्नका लागि शुक्रबार गोष्ठी सम्पन्न भएको छ ।

जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरीप्रसाद पौडेलले सरकारले खोपमा लगानी गर्नु भनेको खर्च नभई आफ्ना देशका नागरिक माथि लगानी गरेको भएकाले त्यसको प्रतिफल सकरात्मक प्राप्त हुने बताए । उनले खोपको महत्वका बारेमा जानकारी गराउँदैं नियमितरुपमा खोप लगाएमात्र पनि धेरैको ज्यान बच्ने र खोपले धेरै प्राणघातक रोगबाट बचाउने जानकारी दिए ।

खोप नै सवैभन्दा शक्तिशाली सुरक्षित र प्रभावकारी रोगहरुको रोकथामको उपाय भएको उनको भनाई थियो । पोषण र खोपमा हरेक अभिभावकले ध्यान दिने हो भने ८० प्रतिशत बालबालिकाहरुको शारीरिक, मानसिक विकास हुने उनको कथन छ ।

सरकारले अहिले विभिन्न ११ प्रकारका प्राणघातक रोग विरुद्ध निःशुल्क खोपको व्यवस्था गरेको पौडेलले जानकारी दिए । १३ प्रतिशत बालबालिकाहरुले पूर्ण खोप नलिएको ३ प्रतिशतले कुनै पनि प्रकारको खोप एकपटक पनि नलिएको तथ्याङ्क उनले प्रस्तुत गरेका छन् ।

राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य उद्देश्यका बारेमा जानकारी गराई गाउँ तथा नगरपालिका स्तरीय खोप कार्यक्रमको समीक्षा गर्नु, पूर्ण खोप नगरपालिका तथा गाउँपालिका घोषणा दिगोपनको अवस्थाको समीक्षा गर्नु, पूर्ण खोप निर्देशिका बमोजिम घोषणा तथा दिगोपनको योजना बनाउनु, पूर्ण खोप सुनिश्चिताका लागि स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरकार र गैरसरकारी साझेदारी निकायको भूमिका पहिल्याएर उनीहरुलाई जिम्मेवार बनाउनु गोष्ठीको उद्देश्य रहेको थियो ।

सबै खोपहरुको कभरेज सबै तहमा ९५ प्रतिशतभन्दा माथि पुर्याएर सो कायम राख्ने, गुणस्तरयुक्त खोपको पहुँच सुनिश्चित गर्ने र खोपजन्य फोहोर सामग्री उचित स्थानमा विसर्जन गर्ने, पोलियो रोगको अवस्थालाई शून्यमा कायम राख्ने, सन् २००५ मा प्राप्त गरेका नवशिशु धनुष्टंकार रोगको निवारणको उपलब्धिलाई कायम राख्ने, सन् २०१९ को अन्त्यसम्ममा दादुरा रोगको निवारण गर्ने तथा नयाँ तथा कम प्रयोग भएका खोपहरु समावेश गरेर खोपबाट जोगाउन सकिने रोगहरुको नियन्त्रणलाई अझै बढवा दिनु राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य रहेको खोप अधिकृत पौडेलको भनाई थियो ।

उनले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका बहुवर्षीय खोप योजना २०१७ देखि २०२१ का उद्देश्य अहिलेसम्म प्राप्त उपलब्धि, खोपबाट बचाउन सकिने रोगहरुका बारेमा जानकरी दिएका थिए ।

सो गोष्ठीको सुरुवातमा मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईले नगरभित्रका खोप लगाउने उमेरका बालबालिकाहरुको अवस्था स्वास्थ्य केन्द्रहरुका बारेमा जानकारी दिएकी थिइन् ।

गोष्ठीमा सहभागीहरुले बाल बच्चाले खोप लगाउनु पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकाले सबैले हरेक बालबालिकालाई खोपकेन्द्रमा पुर्याउनु सबैको दायित्व रहेको बताएका थिए ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीको प्रमुख अतिथि नगर प्रमुख विमल आचार्य थिए । कार्यक्रमको सञ्चालन शाखाका सहसंयोजक रामनारायण यादवले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न स्वास्थ्य केन्द्रका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *