पेशागत महासंघले गरायो झापामा हाजिरीजवाफ प्रतियोगिता (भिडियोसहित)
Published: (Updated: )
by .बिर्तामोड । १३०औं अन्तर्रारिष्ट्रय श्रमिक दिवस मे १ को दिन आज पेशागत महासंघ झापाले जिल्लास्तरीय अन्तरपालिका हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्लाका पालिकाहरुमा सेवारत कर्मचारीहरुबीच आपसी परिचय विस्तार गर्न, कर्मचारीहरुको अन्तरसम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
कर्मचारीहरुलाई समसामयिक राजनीतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विषयहरुबारे जागरणका लागि पनि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रामप्रसाद दवाडीको भनाई छ ।
नेकपाका नेता नरेश खरेलको प्रमुख आतिथ्यमा नेकपा जिल्ला कार्यालय बिर्तामोडमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा झापाका १२ वटा स्थानीय तहमा सेवारत कर्मचारीहरुको सहभागिता थियो ।
प्रतियोगितामा कचनकवल गाउँपालिका समूह प्रथम, हल्दिबारी गाउँपालिका समूह दोस्रो, कमल गाउँपालिका समूह तेस्रो र अर्जुनधारा नगरपालिका समूहले सान्त्वना स्थान प्राप्त गरेका स्कोरर डिल्ली दाहालले जानकारी दिए ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने समूहले नगद ५ हजार रुपैयाँ, दोस्रो हुने समूहले नगद ३ हजार ५०० रुपैयाँ, तेस्रो हुने समूहले नगद २ हजार ५०० रुपैयाँ र सान्त्वना हुने समूहले नगद एक हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
हाजिरीजवाफमा विजयी टोलीहरुलाई पेशागत महासंघको स्थापना दिवस आगामी जेठ ६ गते प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिने महासंघका प्रदेश अध्यक्ष देवराज कार्कीले साझामञ्चलाई जानकारी दिए ।
उद्घाटन कार्यक्रम महासंघका सचिव तुलसी भण्डारीले सञ्चालन गरेका थिए भने प्रतियोगिताको सञ्चालन नेत्र पोखरेलले गरेका थिए ।
Comments