पूर्ण स्थायी राजधानी माग गर्दै विराटनगरमा एक्कासी आमहडताल
Published: (Updated: )
by .विराटनगर । अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई पूर्ण स्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमबारबाट विराटनगरमा अनिश्चितकालिन आम हडताल गरिएको छ ।
विराटनगर महानगरपालिका , उद्योगी व्यपारी र यहाँका नागरिक समाजले गठन गरेको शान्तिपूर्ण दवाव समितिले विराटनगरलाई पूर्ण स्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमवारबाट एक्कासी अनिश्चितकालिन आमहडताल आव्हान गरिएको हो ।
१ नम्बर प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले स्थायी राजधानी घोषणा गर्दा संरचना विकेन्द्रकृत गर्न आइतबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।
राजधानीका संरचना एकै स्थानमा राख्नु पर्ने माग सहित अस्थायी राजधानी विराटनगरमा अनिश्चित कालिन आमहडताल सुरु भएको हो ।
पूर्ण स्थायी राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार बजारपसाल ठप्प बनाएका छन् । बन्दका कारण सोमबार विहानैदेखि सवारी साधन सञ्चालन रोकिएको छ । शैक्षिक संस्था, बजार, उद्योग तथा कलकारखाना बन्द छन् ।
आन्दोलनकारीले प्रशासनिक केन्द्र विराटगरमा नै निर्माण गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । आन्दोलनकारीले बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरेका छन् । विराटनगरमा केहि स्थानमा मोटरसाइकल समेत बन्द गरेका छन् ।
नेकपाले विराटनगरलाई केन्द्र तोकेर वृहत विराट क्षेत्र भित्र पर्ने सुनसरीको इटहरी र सुन्दरहरैचाको गोठगाउँ आसपास कार्यालयपालिका र व्यवस्थापिका स्थापना गर्ने प्रस्ताव पेस गरेको छ । तर विराटनगरबाट राजधानी सार्ने षडयन्त्र भएको बताउँदै आइतबार विराटनगरमा बसेको सर्बपक्षिय बैठकले संरचना विकेन्द्रीकरण नगर्न माग गर्दै अनिश्चित कालिन आमहडताल आह्वान गरेको हो ।
धनकुटार र विराटनगरलाई केन्द्र तोक्न चारवटा प्रस्ताव
प्रदेश १ को स्थायी राजधानी विराटनगर र धनकुटालाई तोक्न छुट्टा छुट्टै चारवटा प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । आइतबार विराटनगर र धनकुटालाई राजधानी तोक्न छुट्टा छुट्टै चारवटा प्रस्ताव दर्ता भएको हो ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले विराटनगरलाई केन्द्र बनाएर वृहत विराट क्षेत्र भित्र पर्ने इटहरी र गोठगाउँमा प्रशासनिक संरचना निर्माण गर्ने सहमति अनुसार प्रस्ताव दर्ता गराएको छ ।
नेकपाका तर्फबाट प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले प्रस्ताव दर्ता गराएका छन् । नेकपाले बताउँदै आएको वृहत विराट क्षेत्र मोरङ र सुनसरीका १८ वटा स्थानीयतहहरु समेटिएका छन् ।
तर नेकपाको प्रस्ताव चित्त बुझ्दो नभएको बताउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर महानगरपालिकालाई नै राजधानी तोक्न छुट्टै प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसको प्रस्तावलाई संघिय समाजवादी फोरमका संसद जयराम यादवले समर्थन गरेका छन् ।
नेपाली कांग्रेस र नेकपाका संसदले धनकुटालाई राजधानी बनाउन छुट्टा छुट्टै दुईवटा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सदस्य लिला सुब्बाले धनकुटालाई राजधानी तोक्न प्रस्ताव दर्ता गराएकी छन् । कांग्रेस संसद लिला सुब्बाको प्रस्तावमा प्रतापप्रकाश हाङगाम र रामचन्द्र लिम्बुले समर्थन गरेका छन् ।
त्यस्तै नेकपाका प्रदेशसभा सदस्य निरन राईले पनि धनकुटालाई तोक्न बेग्लै प्रस्ताव दर्ता गराएका छन् । राईको प्रस्तावमा इन्द्रमणी पराजुली र कुसुमकुमारी श्रेष्ठले सर्मथन गरेका छन् ।
नाममा भने तत्काल सहमति नजुटेपछि थाती राख्ने निर्णय गरेको छ । जारी अधिवेशनबाट राजधानीको टुंगो लगाएपछि बजेट अधिवेशनमा नामको टुंगो लगाउने नेकपाको तयारी छ ।
Comments