उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिता सुरु
Published:
by .भद्रपुर । उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । मेची रङ्गशालामा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि पोर्तेल, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीलगायतले शुभकामना दिए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष धर्मराज शिवाकोटी, सदस्य पूर्णकुमार सिटौला, ज्ञानेन्द्र राई, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठलगायतको आतिथ्यता थियो ।
आइतबार समापन हुने जिल्लास्तरीय छनौट प्रतियोगितामा यस वर्ष झापाबाट मार्सल आर्टसतर्फ कराते, तेक्वान्दो र उसु तथा एथ्लेटिक्स खेल विधा समावेश छन् ।
प्रतियोगिताबाट करातेतर्फ ३ छात्र र ३ छात्रा, तेक्वान्दोतर्फ ३ छात्र र ३ छात्रा, उसुतर्फ ३ छात्र र ३ छात्रा तथा एथ्लेटिक्सतर्फ ५ छात्र र ५ छात्रा छानिने बताइएको छ । प्रतियोगितामा १४ वर्षमुनीका कक्षा ६ देखि ८ सम्म अध्ययनरत् सामुदायिक तथा संस्थागत विद्यालयका करिब ८ सय विद्यार्थीले भाग लिएका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त) र सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।
जिल्लाबाट छनौट हुने खेलाडीले प्रदेशस्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । गत वर्ष सम्पन्न प्रदेशस्तरीय उक्त प्रतियोगितामा झापा च्याम्पियन बनेको थियो ।
Comments