प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै
Published:
by .काठमाडौं । दक्ष प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै गएको छ।
कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो परियोजना लागू गरिएको भए पनि प्राविधिकको अभावमा हाइटेक ग्रीन हाउन परियोजना असफल बन्दै गएको हो।
अनुदानसहितको अत्याधुनिक प्रविधि भन्दै किसानहरू हाइटक प्रविधितर्फ आकर्षित भए पनि सो प्रविधिसम्बन्धी विज्ञको अभाव भएपछि किसान मर्कामा परेका छन्। नया प्रविधिसँगै कृषि उत्पादनबाट अत्याधिक नाफा कमाउने उद्देश्य लिएका किसान अहिले नोक्सानमा परेका छन्।
नोक्सानी भोग्न बाध्य भएका किसान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाप्रति नै आक्रोशित छन्। कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित खामघले कृषि फार्मका संचालक केबलबहादुर गौतम उच्च प्रविधिको प्रयोगले व्यवसायमा घाटा गराएको गुनासो गरे। प्रविधिपछि प्राविधिक भित्र्याउने गलत प्रवृत्तिका कारण आफूहरू समस्यामा परेको बताए।
उनले हाइटेक भनिए पनि हाइटेकमा हुनुपर्ने प्राविधिक पक्ष नभएको र सो प्रणालीमा उत्पादन गरिने तरकारी बालीका बारेमा यथेष्ट जानकारी नहुँदा समस्या परेको बताए।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा पहरीखेतस्थित हेम्जा एग्रो फार्मका शालिकराम बास्तोलाको समस्या पनि त्यस्तै छ। उनले १२ वटा सहकारी संस्था र सरकारको ८५ प्रतिशत अनुदानमा सुरु गरिएको हाइटेक ग्रीन हाउस परियोजनाबाट २ वर्षमा १३ लाख नोक्सानी व्यहोर्नुपरेको गुनासो गरे।
उनले हाइटेक ग्रीन हाउसमा लगाउने बाली, रोग किरासहितको प्राविधिक पक्षको जानकारी अभावमा ठूलो समस्या भएको बताए।
वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारीबिना नै प्रविधि आएको भए पनि आफूहरूले सक्दो सहयोग गरेको दाबी गरे। उनले प्रविधिमा देखिएका समस्याबारे विभिन्न अनुसन्धान गरि समाधान गर्ने काम भइरहेको बताए।
नयाँ प्रविधिका कारण बालीमा फूल तथा फल नलाग्ने समस्या समाधानका लागि इन्र्टनको रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालबाट आएका विद्यार्थीबाटै केही साना साना अनुसन्धान गरि बाली प्रवर्द्धनमा सघाउने काम भइरहेको प्रधानामन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीका कृषि इर्न्टन रितेशकुमार झाले बताए।
Comments