बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै
Published:
by .काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन्।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षका उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गरेका थिए जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।
यस वर्ष दुई हजार २५६३ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ।
यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ। प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ।
बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन्।
Comments