Sajhamanch Archive

वृक्षारोपण गरेर २२ औं जैविक विविधता दिवस मनाउदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोला स्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यसपछि मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखा प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षारोपण गरेका थिए ।

कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आम नागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री बस्नेतले आगामी बजेटमा यसतर्फ पर्याप्त ध्यान दिइने बताए।

यस वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ भन्ने रहेको छ ।

सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *