चार बजे बजेट संघीय संसदमा प्रस्तुत हुँदै
Published:
by .काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन्।
त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ। अघिल्लो पटक पार्टी घोषणापत्र अनुसारको बजेट नल्याएको भन्दै आलोचित भएका अर्थमन्त्री खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने तयारी गरेका छन्। मन्त्रालय स्रोतका अनुसार बजेटमा कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरिँदैछ।
वृद्ध भत्ता एक हजार रुपैयाँसम्म बढाउने सरकारको तयारी छ। स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड पुर्याइएको बताइएको छ। सांसदहरुले भने यसलाई बढाएर १० करोड पुर्याउनुपर्ने माग गर्दै आएका थिए। स्रोतका अनुसार बजेटको आकार झण्डै १६ खर्ब हराहारीको हुनेछ। राष्ट्रिय योजना आयोगले सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र बजेट ल्याउन सीमा तोकेको थियो।
मन्त्रालयले आयोगको सिलिङमा रहेर बजेट ल्याउन नसकिने भनेपछि आयोगले मध्यमकालीन खर्च संरचना अनुसार १५ खर्ब ७७ अर्बसम्म जान सक्ने बाटो खोलेको थियो। बजेटका लागि १० खर्ब हाराहारी राजश्व उठाउने लक्ष्य लिइएको छ। ३ खर्ब ६६ अर्ब रुपैयाँ बैदेशिक ऋण तथा अनुदान र २ खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत स्रोत जुटाइने बताइएको छ। चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याइएपनि आर्थिक वर्ष सकिन लाग्दा जम्मा ५६ प्रतिशत मात्रै बजेट खर्च भएको छ।
Comments