Sajhamanch Archive

मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ ।

युरोपेली संसद्मा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको छ ।

निर्वाचनपछि उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन बढेको छ ।

ब्रसेल्समा भएको युरोपेली नेताहरूको बैठकमा फ्रान्स र जर्मनीका नेताहरूको छुट्टाछुट्टै प्रतिक्रिया आएपछि नेतृत्व चयनमा समस्या देखिएको हो ।

जर्मन चान्सलर एङ्गेला मर्केलले मध्य दक्षिणपन्थी उम्मेदवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन चाहेकी छन् ।

तर फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले भने वेबरलाई सम्भावित तीन उम्मेदवारमा समेत उनको नाम उल्लेख गरेका छैनन् ।

मर्केलले वेबरको समर्थन गर्नुअघि माक्रोंले आफूले पक्ष लिएका उम्मेदवारको नाम नलिए पनि सिर्जनशील र योग्य मानिस चाहिएको बताएकी थिइन ।

पछिल्लो चुनावले युरोपेली संघलाई थप विभाजित देखाएको छ ।

अधिकांश निर्णय सहमतिबाटै हुने गरेको संघमा अब सहमतिबाट काम गर्न कठिन हुने परिस्थिति सुरुदेखि नै देखिएको छ ।

सन् २०१४ मा निर्वाचन जितेको मध्य दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टी (इपीपी)का जँ क्लोड यंकर अध्यक्ष बनेका थिए ।

तर यसपटक इपीपीकै उम्मेदवार जर्मनीका मानफ्रेड वेबरका लागि त्यो बाटो कठिन देखिएको छ । यसपटक यो पार्टीले ७५१ सदस्यीय संसद्मा १८० स्थानमा जितेको छ ।

यसअघि यो पार्टीले २१७ स्थानमा जित हात पारेको थियो । प्रत्येक पाँच वर्षमा ७५१ सदस्यीय युरोपेली संसद्का लागि २८ सदस्य देशमा प्रत्यक्ष निर्वाचन हुने गर्दछ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *