तेक्वान्दो र कबड्डी पुरुषको प्रदेशस्तरीय प्रतियोगिता सुरु
Published:
by .काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन प्रदेश साँसद् श्रीप्रसाद मैनालीले गरेका छन् ।
काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँसद् मैनालीले खेल क्षेत्रको विकास र उन्नयनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।
‘खेल क्षेत्रमा एक नम्बर प्रदेश एक कदम अगाडी नै छ, यो प्रदेश खेलकुदको उर्वरभूमि पनि हो’ उनले भने–‘खेल पूर्वाधारको विकास र योग्य खेलाडी उत्पादनका लागि सक्दो प्रयत्न गर्छौं, ढुक्क हुनुस् ।’
खेलमार्फत् राष्ट्रको गरिमालाई उच्च राख्न झापाले पुर्याएको योगदानको प्रशंसा गर्दै साँसद् मैनालीले अन्र्तराष्ट्रिय प्रतियोगिता खेल्न सक्ने दक्ष खेलाडी उत्पादनमा जोड दिए ।
प्रतियोगिताको उद्घाटन सत्रमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित उक्त प्रतियोगिताको स्थानीय व्यवस्थापन झापा जिल्ला खेलकुद विकास समितिले गरेको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा एक नम्बर प्रदेश अन्र्तगतका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, कार्यालय प्रमुखलगायत पदाधिकारी एवम सदस्य, विभिन्न खेल विधाका प्रशिक्षक, खेल सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको आतिथ्यता थियो ।
उद्घाटन कार्यक्रममा जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने तेक्वान्दो र कबड्डीका पुरुष खेलाडीहरुले मार्चपास गरेका थिए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकीका अनुसार काँकरभिट्टा खानेपानी संस्थाको सभा कक्षमा तेक्वान्दो र काँकरभिट्टा माविको खेल मैदानमा कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवँ उद्घाटन समारोहका सभापति शंकर थापाले स्वागतसहित औचित्य बारे प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।
Comments