प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी च्याम्पियन
Published:
by .काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि काँकरभिट्टामा सुरु गरेको सो प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको हो ।
तीन दिने प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका छन् । १३ जिल्लालाई उछिनेर पहिलो भएको सुनसरीले शिल्ड, मेडल र प्र्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा टिम दोस्रो भएको मोरङ र टिम तेस्रो भएको झापाले शिल्ड पाएको छ । प्रतियोगितामा सुनसरीले १२ स्वर्ण, १ रजत र २ कास्य, मोरङले ३ स्वर्ण, ३ रजत र ६ कास्य तथा झापाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताका संयोजक एवम् जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले व्यक्तिगत रुपमा प्रदेश च्याम्पियन बनेको सुनसरीलाई पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका सभापति जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष थापा, प्रशिक्षक टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनाली, लेखापाल देवीकुमारी न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुले सो प्रतियोगितामा पुरुषतर्फ ३५ देखि ८० केजी र महिलातर्फ ३५ देखि ६७ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
२५० जना खेलाडीले सो प्रतियोगितामा १८ वटा विभिन्न तौल समूहमा प्रतिष्पर्धा गरे भने पुम्सेतर्फ पुरुष र महिला खेलाडीले एकल प्रतिष्पर्धा गरेका थिए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापन तथा झापा जिल्ला खेलकुद विकास समितिको स्थानीय व्यवस्थापनमा काँकरभिट्टा खानेपानी संस्था परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
Comments