Sajhamanch Archive

नोट सक्कली वा नक्कली कसरी थाहा पाउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । समय समयमा बजारमा नक्कली नोट भेटिएका खबर आउँछन् । विशेषगरी एक हजार, पाँच सय र सय रुपैयाँका नक्कली नोट बजारमा पाइएका समाचारहरु आउँछन् ।

भारतीय रुपैयाँ मात्र नभएर नेपाली नोट नै नक्कली भेटिन थालेपछि नेपाल राष्ट्र बैंकले सक्कली नोट चिन्ने तरिका सार्वजनिक गरेको छ ।

हजार रुपैयाँको नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा वा नोटको पछाडिबाट टर्च लाइट को माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग, नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग र पृष्ठभाग एक वटा हात्ती भएको भाग दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट देखिन्छ ।

जुन अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट देखिन्छ । सुरक्षण धागोमा एनआरबी ऐनामा देखिने उल्टो प्रतिविम्ब सँग लहर मिलाएर लेखिएको छ ।

नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंश मात्र देखिन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ ।

साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।भगवतीको आकृति, तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने हुन्छ ।

उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ । त्यसैगरी पाँच सय र एक सयको नोट चिन्ने तरिका एउटै हो । तर पाँच सय र एक सयको नोटमा सुरक्षण धागोबाट नोटलाई हेरिने कोणको आधारमा फरक(फरक रंगमा परिवर्तन हुन्छ ।

सामान्य अवस्थामा प्रकाश प्रसारण नहुने नोटको अग्रभागमा हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *