गैंडा मर्न थाले, के कारणले मरे भन्ने पत्ता लागेन
Published:
by .काठमाडौं। चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् । झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए ।
‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन भएको छैन ।
’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको उनको भनाइ छ। ‘के कारणले मरेको हो भनेर अध्ययनमै छौं’, उनले भने, ‘भारतमा जेडएसआई टेस्ट गराउँदै छौं । त्यहाँबाट पनि केही पत्ता नलागे अन्य मुलुकमा भएको प्रविधिमा जानेछौं।’
पछिल्लो तथ्यांकअनुसार देशभर ६ सय ४५ गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा मात्रै ६ सय ५ वटा छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा २८, शुक्लाफाँटामा नौ र पर्र्सा राष्ट्रिय निकुञ्जमा तीनवटा रहेको विभागको तथ्यांक छ । चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ३८ र अन्य कारणले दुई गैंडा मरे ।
डिभिजन वन कार्यालय चितवनमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा मरे । यीमध्ये ड्यामबाट खसेर एक र होटलको सेफ्टी ट्यांकमा खसेर एउटाको मृत्यु भएको थियो । अन्नपूर्ण पोस्ट् दैनिकबाट ।
Comments