Sajhamanch Archive

दश महिनाको राजस्व नौ महिनामै पूरा, लक्ष्यको तुलनामा २३ लाख रुपैयाँ बढी राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । सिमित स्रोत, साधन र जनशक्तिका बावजुत पनि भद्रपुर भन्सार कार्यालय झापाले १० महिनाको लक्षित राजस्व भन्दा बढी नौ महिनामै पुरा गरेको छ ।

यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार कार्यालय ९ महिना अघिमात्र मुख्य भन्सार कार्यालयको रुपमा स्थापित भएको हो ।

२०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गरेका थिए । चालु आर्थिक वर्ष २०७५÷०७६ को असोज महिनादेखि भन्सार विभागले प्रत्येक महिना १ करोड ५० लाख रुपैयाँका दरले दशमहिनाको वा असार महिनासम्म १५ करोड रुपैयाँ लक्ष्य दिएको थियो ।

सशस्त्र द्वन्दका बखत बिस्थापित भएर बन्द भए पनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो । पूर्वकै सबैभन्दा बढी राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाको वार्षिक लक्ष्य पुरा गर्न यसले निक्कै टेवा पुर्याएको थियो । यो मुल भन्सारमा स्थापना भएपछि यतिखेर मेची भन्सार कार्यालय काँकरभिट्टालाई वार्षिक लक्ष्य पुर्याउन गाहे छ ।

तर, विभागले दिएको समय सीमा सकिन एकमहिनाबाँकी रहदा कार्यालयले जेठ मसान्तसम्ममा १५ करोड २३ लाख ३२ हजार ३५ रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिए । संकलन भएको राजस्व दशमहिनको लक्ष्यको तुलनामा २३ लाख ३२ हजार ३५ रुपैयाँले बढी हो ।

चालु आर्थिक वर्ष २०७५÷०७६ को शुरुवाती दुईमहिना साउन र भदौमा संकलित राजस्व मेची भन्सार कार्यालय काँकरभिट्टाको वार्षिक लक्ष्यमा समेटिएपनि असोजदेखि भद्रपुर भन्सार कार्यालयलाई भन्सार विभागले अलगै लक्ष्य तोकिदिएको अधिकृत खतिवडाको भनाई छ । उनका अनुसार साउन र भदौ महिनामा २ करोड ५० लाख ९० हजार ७९ रुपैयाँ संकलन गरी मुल भन्सार कार्यालयमा पठाएको थियो । यो सहित कुल १७ करोड ७४ लाख २२ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरुको सक्रियता, सीमाक्षेत्रबाट अवैधरुपमा हुने चोरी निकाशी पैठारी नियन्त्रणमा अहम भूमिका तथा आयात निर्यातका क्रममा हुने चेकजाँचमा गरिएको कडाइका कारणले उल्लेखनीय रुपमा राजस्व संकलन भएको उनको भनाई छ । बिहारको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्ज नाका बाट भद्रपुर हुर्दै प्रमुख रुपमा सुर्ती खैनी अत्यधिकरुपमा आयात हुने गरेको छ । यसपछि कपडा, जुत्ता चप्पल आयात वापतको राजस्व असुलीले पनि कार्यालयमा उल्लेखनीय रुपमा राजस्व संकलन हुने गरेको छ ।

नयाँ भन्सार कार्यालयका रुपमा भएका कारण धेरै समस्या भएको भन्सार अधिकृत खतिवडाको भनाई छ । यसै आर्थिक वर्षभित्रमा मुल भन्सारको रुपमा स्थापित भएको भद्रपुर भन्सार कार्यालय सिमित स्रोत र साधनका वावजुद पनि निक्कै प्रगति गरेको भन्सार अधिकृत खतिवडाको भनाई छ ।

‘शुरुमा यो कार्यालय मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारका रुपमा थियो’ भन्सार अधिकृत खतिवडाले भने—‘मुल भन्सार भएपछि यसको पूर्वाधार जनशक्तिदेखि लिएर सवै कुरामा पुनःसंरचनाको स्थिति आयो । शुरुमा यहाँ जुन भवन थियो त्यो सडकमा परेका कारण भत्काउनु पर्यो । यसले गर्दा भन्सार कार्यालयका लागि नभई नहुँने अधारभूत संरचनाहर तुरुन्तै निर्माण गर्नुपर्ने अवस्था सिर्जना भयो । छ महिनाका बीचमा भन्सार कार्यालय सञ्चालनका लागि नभई नहुने अति अत्यावश्यक संरचना निर्माण गरियो, धेरै निर्माणका चरणमा छन् । ’

अहिले कार्यालयको मुख्यः चुनौती भनेको साघुरो संरचनाहरुबाट कार्यालयको दैनिक कार्य सम्पादान गर्नुपर्ने, चेकजाँच सम्पादन गर्नु, २४ सै घण्टा काम गर्नुपर्ने अड्डामा कर्मचारीहरुका लागि आवासको सुविधा नहुनु नै रहेको भन्सार अधिकृत खतिवडाले जानकारी दिए । कार्यालयको यी समस्या पूर्वाधारलाई अल्पकालिन र दीर्घकालिनरुपमा वर्गाीकरण गरिएको छ ।

यहि आर्थिक वर्ष भित्र वा आगामी आर्थिक वर्षको पहिलो ६ महिनाभित्र गर्नुपर्ने कामलाई अल्पकालिन योजनाका रुपमा राखिएको छ । यस अन्तर्गत भइरहेको भवनको मर्मत तथा सम्भार र रंगरोगन गरेर कार्यालय सञ्चालन गरिएको छ, कर्मचारी आवासका लागि भवन टेण्डर प्रक्रियामा गएको, गोदाम घर निर्माण तथा वरीपरी पर्खाल लगाउने काम भएको छ । एउटा कार्यालय सञ्चालनका लागि चाहिने अत्यआवश्यक काम भएको र धेरै निर्माणका चरणमा छन् । आगामी आर्थिक वर्षमा सवै काम सम्पन्न गर्ने लक्ष्य रहेको भन्सार अधिकृत खतिवडाले बताए ।

जग्गा प्राप्त, भन्सारका लागि आधारभूत संरचनाहरुको गुरुयोजना बनाउने, कन्ट्रक्सनको कामको जिम्मेवारी दिनेलगायतका दीर्घकालिन योजनाका काम पनि छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *