Sajhamanch Archive

‘चेक बाउन्स’ को लफडाले कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

कपिलवस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउँस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो चामल उद्योग कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी गरिएको छ ।

मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर (बाउन्स) भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा जिल्ला अदालत कपिलबस्तुको रोहबरमा शिलबन्दी गरिएको जनाइएको छ ।

सोही वडाका भिमलाल पौडेल, इन्द्रमणि पौडेल लगायतका ब्यक्तिहरु सञ्चालक रहेको उक्त इन्ड्रस्टीजमा अदालतले दिएको बिगो कोर्टसम्बन्धी मुद्दाको आदेशानुसार शिल गरिएको अदालतका तहशिलदार लेखनाथ अर्यालले जानकारी दिएका छन् ।

कपिलबस्तु नगरपालिका– १०, पचेहरास्थित न्यू पुजा खाद्य उद्योग सञ्चालक तौलन बानियाले जिल्ला अदालत कपिलबस्तुमा मल्टिएग्रो सञ्चालक भिम पौडेल र इन्द्रमणी पौडेलबिरुद्ध २५ लाख रुपैयाँका पाँच वटा चेक अनादरका मुद्दा जिल्ला अदालतमा दिएका थिए ।

जिल्ला न्यायधीश भरतमणी खनालको इजलासको फैसला अनुसार सो मुद्दामा बानियाँले कुल साँवा रकम १ करोड ७८ लाख ८ हजार २ सय ९९ रुपैयाको सो ब्याज समेत भराइ पाउने ठहर गरेको थियो ।

बानियाँसहित जिल्लाका अन्य १४ जना ब्यबसायीले आफूहरुले पाउनुपर्ने ५ करोड ९२ लाख ४६ हजार दुइसय रुपैयाँ रहेकोमा इन्ड्रस्टीजद्धारा सम्बन्धीत फर्मका नाममा दिएको ३ करोड ३२ लाख ३७ हजारको चेक अनादर (बाउन्स) भएको बताएका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमा खाता सञ्चालन रहेको सो उद्योगको चेक अनादर भएको हो । कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीज प्रालिको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक भैरहवा शाखाको खाता नम्बर ०१००१०३०२५४८५४ का चेकहरु अनादर भएका हुन् । चेक अनादर भएकाका बिषयमा बैंकका शाखा प्रवन्धक राजाराम उपाध्यायले कुनै प्रतिक्रिया दिन मानेनन् ।

बैंकिङ नियमानुसार चेक अनादर भएको खण्डमा सबन्धित खातावालालाई जानकारी दिनुपर्ने हुन्छ, तर नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवालाई जिल्ला अदालत कपिलबस्तुले कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीज प्रालिका बारेमा पटकपटक जानकारी गराउँदा समेत उपाध्यायले अटेरी गरेको ब्यापारीको आरोप छ ।

नियमानुसार अदालतले लिखित रुपमा खातावालाको खाता बन्द गर्नु भनि आएमा सबन्धित शाखाले केन्द्रीय शाखामा तुरुन्त जानकारी दिनुपर्ने हुन्छ । साना चामल व्यापारीहरूले आफूलाई उद्योग र बैंकले ठगेको आरोप लगाएका छन् ।

पचेहरास्थित न्यू पुजा खाद्य उद्योगका सञ्चालक तौलन बनियाँले सो उद्योगले दिएको १ करोड २५ लाखको चेक अनादर भएको बताएका छन् । ‘२५ लाखका ५ वटा चेकबाट पैसा पाइएन । चेक अनादर भयो । असोज ३०, कार्तिक १, कार्तिक ११, कार्तिक २१ र माघ २९ मा उद्योगले २५÷२५ लाखका चेक दिएको थियो ।’

बनियाँले भने, ‘उद्योगका संचालकसँग चेक अनादर भएका विषयमा जानकारी गराउँदा समेत आलटाल मात्र गर्छन् । बैंकले पनि यस बिषयमा कुनै चासो दिएको छैन् ।’

यस्तै पचेहराकै फिन्स ट्रेडर्सका सञ्चालक पशुपति बनियाँको ३० लाखको चेक अनादर भएको बताएका छन् । कार्तिक १ मा ५ लाख, कार्तिक ११ मा १० लाख कार्तिक २१ मा १० लाख र फागुन २ मा काटिएका ५ लाख रुपैयाँका चेक बैंकबाट अनादर भएको बनियाँ बताउँछन् ।

बैंक कसुर तथा सजाए ऐन २०६४ अनुसार लगातार दुईदेखि तीन वटा चेक अनादर भए कालोसूचीमा राख्नका लागि कर्जा सूचना केन्द्रमा सिफारिस पठाउन सक्ने प्रावधान छ । तर बैंकले त्यसो नगरी उल्टै उद्योगलाई नै साथ दिएको पीडित व्यापारीहरूको आरोप छ ।

एग्रो इन्डष्ट्रिजबाट व्यवसायीहरू गोरखनाथ बनियाँले ५३ लाख, प्रभुनाथ बनियाँले ३ लाख ३५ हजार, पशुपति बनियाँले ४६ लाख २० हजार, राजनारायण गिरीले ९ लाख ९ हजार, हरिद्वार बनियाँले १८ लाख ६८ हजार रुपैयाँ प्राप्त गर्नुपर्ने देखिन्छ ।

यसैगरी मिश्रीलाल बनियाँको ३ लाख ५८ हजार,रामदयाल चौधरीको १६ लाख, नरदेव चौधरीको ३ लाख ५१ हजार, नन्दलाल अग्रहरीको १६ लाख ५८ हजार, मुन्नुलाल अग्रहरीको १५ लाख २६ हजार, मनोज बनियाँको १ करोड ५० लाख, राधेश्याम बनियाँको १६ लाख २७ हजार, नन्दकिशोर बरईको १५ लाख ८ हजार, महेन्द्र बनियाँको ८ लाख ७ हजार रुपैयाँ सो कम्पनीबाट प्राप्त गर्नुपर्ने छ ।

यसैगरी हरिराम यादवको ६ लाख, गौतम गुप्ताको २ लाख ४४ हजार, राम मिलन विश्वकर्माको ५ लाख ६८ हजार, सुभाष चन्द्र जयसवालको १८ लाख, नरसिंह कलवारको ७ लाख ३९ हजार, राम करन यादवको ३ लाख १५ हजार रुपैयाँ सो कम्पनीबाट प्राप्त गर्नु पर्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *