Sajhamanch Archive

उपाधि केके एफसीलाई

Published: in खेलकुद by .

झापा । मेचीनगर १ मा सम्पन्न अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि केके एफसी इटाभट्टाले हात पारेको छ ।

गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उपाधि भीडन्तमा आयोजकलाई १–० ले पराजित गर्दै केके एफसीले उचाल्न सफल भयो ।

आयोजकलाई हराउँने क्रममा केके एफसीका कप्तान मनकुमार लिम्बूले खेलको सुरुवातमै गरेको गोल निर्णायक बन्यो । उपाधि उचालेसँगै केके एफसीले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाण पत्र पाएको छ ।

उपविजेतामा सिमित बनेको आयोजक गाडागल्ली नगद २१ हजार, शिल्ड, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । उक्त खेलको म्यान अफ दि म्याच घोषित आयोजकका युजेन लामालाई नगदसहित पुरस्कृत गरियो ।

खेल समापनको अवसरमा कुस्ती संघको खुल्ला राष्ट्रिय प्रतियोगिता २०७५ मा पुरुषतर्फ ६५ केजी तौल समूहमा कपिलवस्तु, लाहान, सुनसरीमा सहभागि भई प्रदेश एकबाट स्वर्ण पदक र कास्य पदक जित्न सफल कुमार आचार्य, खुल्ला महिला राष्ट्रिय प्रतियोगिता पोखरा, सुनसरी वीपी कोइराला स्मृति प्रतिष्ठान प्रतियोगितामा ६५ केजी तौल समूहमा २०७५ मा कास्य पदक जित्न सफल अनिता चौंलागार्इं र खुल्ला महिला राष्ट्रिय प्रतियोगिता पोखरामा ६९ केजी तौलतर्फ राखेप च्याम्पियनशिप २०७५ हेटौंडा, सुनसरी वीपी कोइराला स्मृति प्रतिष्ठान प्रतियोगिता, कोशी गाउँपालिका प्रथम राष्ट्रिय महिला कुस्ती प्रतियोगिता २०७५ मा स्वर्ण पदकविजेता सदिक्षा राईलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, खेल क्षेत्रमा योगदान पुर्याएबापत कुस्ती सहायक प्रशिक्षक वेदनिधी भण्डारी (उमेश) र मेचीनगर १ नम्बर वडा कार्यालयलाई सम्मान गरिएको आयोजकका संयोजक सुरेन लिम्बूले जानकारी दिए ।

उनीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापा, सभापति आयोजक संस्थाका अध्यक्ष पूर्णबहादूर देवान, मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङलगायतले पुरस्कृत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *