Sajhamanch Archive

आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्राधिकरणको यो निर्णयसँगै भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने अनुदान दिने कि नदिने भन्ने अन्योलको अन्त्य भएको छ ।

प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले प्राविधिक खटिनुपूर्व नै बनेका घरलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेको छ ।

अब प्राविधिक खटिनुपूर्व नै बनेका निजी आवासलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुल्ला भएको हो ।अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परिचालन गर्नुपूर्व पुनर्निर्माण गरिएका घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने कार्य केही ढिला भएको देखिएकाले उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउन कार्यविधि बनाएको बताए ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् । ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।

२ लाख ११ हजार घर पुनर्निर्माणको क्रममा छन् । प्राविधिक खटिनपूर्व भने करीव १२ हजार घर बनेको प्राधिकरणले उल्लेख गरेको छ । बैठकले एक कोठे घर पुनर्निर्माणसम्बन्धी मापदण्डमा समेत स्पष्ट व्याख्या गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *