Sajhamanch Archive

सय पर्यटकीय गन्तव्यलाई थप ५० करोड बजेट

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५ / ७६ मा घोषणा गरेका १ सय पर्यटकीय गन्तव्यले आगामी वर्ष पनि बजेट पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी वर्ष १ सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको थियो ।

आगामी सोही अनुपातमा विनियोजन भएको हो । यो रकम सम्बन्धित स्थानीय तहमार्फत खर्च भइरहेको मन्त्रालयको योजना तथा मूल्यांकन महाशाखा प्रमुख तथा सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

‘चालु आर्थिक बर्षमा यी गन्तव्यमा सन्तोषजनक काम भइरहेको छ,’ उनले भनिन्, ‘मन्त्रालयले आगामी वर्ष पनि यी गन्तव्यमा बजेटको कमी हुन दिँदैन ।’

देशभर १ सय नयाँ गन्तव्य पहिल्याएर त्यहाँ पूर्वाधार विकास गर्ने दिवंगत मन्त्री रवीन्द्र अधिकारीले महत्वकांक्षी घोषणा गरेका थिए । देशभरका ७७ वटै जिल्लाबाट कम्तिमा एक गन्तव्य नछुट्ने र ७ वटा प्रदेशबाट कम्तिमा १० गन्तव्य पर्ने गरी छनोट गरिएको थियो ।

नेपालको पर्यटन लामो समयदेखि सिमित गन्तव्यमा केन्द्रित छ । यसलाई बिस्तार गर्दै हरेक जिल्लामा कम्तिमा एक नयाँ गन्तव्य स्थापित गर्ने लक्ष्यसहित सरकारले लिएको छ । महाशाखा प्रमुख अर्यालका अनुसार यी गन्तव्यमा दिएको रकम पूर्णतया पूर्वाधार विकासमा खर्च गर्नुपर्नेछ । चालु आवमा दुई किस्तामा स्थानीय तहमार्फत यी गन्तव्यका लागि रकम दिइएको छ ।

पहिलो चरणको काम र खर्चको विवरण हेरेर मात्र दोस्रो चरणका लागि रकम दिइएको अर्यालले जानकारी दिइन् । सरकारले चालु आवको बजेटमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान र विकास गर्ने उल्लेख गरेको थियो । सोही अनुसार मन्त्रालयले नेपाल बोर्डमार्फत यी गन्तव्यको छनोट गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *