Sajhamanch Archive

झापामा चक्रीय व्याजको कारोवारबाट ठगिने बढ्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापा जिल्लामा चक्रीय व्याजको अवैध कारोवार हुने गरेको पाइए पनि नियामकले सानो संकेत समेत पाउने गरेको छैन । स्थानीयलाई महंगो व्याजको लोभ देखाएर अवैध कारोवारीले ठग्ने नियत राखी करोडौं रकम उठाएर फरार भएपछि चक्रीय व्याजको कारोवार भइरहेको रहस्य सार्वजनिक भएको हो । महँगो व्याजको लोभ देखाउँदै लाखौं रूपैया स्थानीयबाट उठाएर झापा भद्रपुरका एक व्यक्ति वेपत्ता भएपछि जिल्ला प्रशासन कार्यालयमा ठगिको उजुरी दर्ता भएको छ ।

पीडितले दिएको उजुरी अनुसार सप्तरी दौलतपुर स्थायी ठेगाना भई हाल भद्रपुर–१० धनुषमोड वी पी टोल बस्दै आएका ४५ वर्षीय राजकुमार राउतले २३ जनाको करोडौं रकम लिएर वेपत्ता भएको उजुरी परेको हो । राउत असार १३ गते शुक्रबार दिउँसोदेखि बेपत्ता भएपछि रकम दिने स्थानीय सशंकित भइ रकम ठगेको उजुरी दिएका हुन् । उनले झापाको विर्तामोड, भद्रपुर, चन्द्रगढी, गौरादह, उदयपुरको गाईघाटलगायतका स्थानबाट सेवा निबृत्त कर्मचारी, पूर्व प्रहरी, सर्वसाधरण व्यक्तिः, सुन व्यवसायी, यातायात व्यवसायी, सटही काउन्टर सञ्चालक, उद्योगी, व्यापारी, छिमेकी आफन्तजनबाट करिव ५ कारोडभन्दा माथि रकम लिएर वेपत्ता भएको आरोप छ । रकम दिने अधिकाम्सले थोरै समयमा धेरैे व्याज पाइने लोभमा विना प्रमाण ऋण रकम प्रदान गरेको देखिएको छ । यस्तो कारोवार चक्रीय व्याज प्रणाली अनुसार हुने गरेको हो । हप्ता दिनमा साँवाको एक तृतीयाम्स वा महिनामा साँवा रकमको आधा व्याज पाइने लोभमा कारोवार हुने गरेको अवस्थाले चक्रीय व्याज प्रणाली फष्टाइरहे पनि नियामकले कारवाही गर्न सकेको छैन ।

चन्द्रगढीका राउतले १ लाख रकमदेखि २७ लाख रूपैयाँसम्म ऋण सापटी लिएको देखिएको छ । प्रायःजसो उनले जग्गाको कारोबार गर्दैछु रकम अपुग भयो भन्दै रकम लिने र केही दिन पछि मोटो व्याज थपेर रकम फिर्ता गर्ने गरेकोले पहिलेको अवस्था हेरेर लगानी गरेको लगानी कर्ताको भनाइ छ । उनले कसैबाट सुनको कारोबार गर्दैछु भनेरसमेत आश्वासन दिएर रकम लिएका छन् । एकै घरका परिवारले राउतसँग छुट्टाछुट्टै कारोबार गरेकोसमेत पाइएको छ । सुरू सुरूमा कारोबार राम्रै थियो, भनेकै दिन व्याजसहित साँवा पनि दिने गरेकोले रकम लगानी गरेको पीडित बताउने गर्छन् । राउतलाई रकम दिने २३ जना देखिएका छन् । अहिलेसम्म सवैभन्दा बढी रकम दिने गाइघाटका कटवाल थरका व्यक्तिले २७ लाख रुपैयाँ दिएको दाबी गरेका छन् । सुरूमा कतीपय लगानीकर्ताले दिएको साँवा अनुसार राम्रै रकम कमाएको वताएका छन् । पछिल्लो समय लगानीकर्ताको व्याज त के साँऊ पनि डुब्ने अवस्था आएपछि प्रहरी प्रशासनको ढोका ढकढक्याउन पुगेका छन् । राउतले आफू हिड्नु अगाडि केही व्यक्तिलाई चेक मार्फत दिएको रकमको समेत बैंकमा पैसा नभएको पाइएको छ । वित्तीय नियमावली अनुसार खाली चेकमा भुक्तानी दिएर ठगी गर्ने कार्य अझै ठूलो अपराध हो ।

जब घरमा रकम दिने मान्छेको लाइन लाग्यो अनि मात्र श्रीमानको कारोबार थाहा पाएको उनकी श्रीमतिले बताउने गरेकी छिन् । चिनजानका मानिस घरमा नै आउनुहुन्थ्यो तर उहाँहरूले गरेको कारोबारको विषयमा भन्नु भएन । श्रीमान वेपत्ताको खबर पाएपछि छिमेकीलगायत अन्य ठाउँबाट पनि लाखौँ रकम दाइलाई दिएका थियौँ भन्दै आउन थालेको उनको भनाइ छ ।
राउतले तीनदिन पछि १८ लाख रुपैयाँ दिन्छु भनेपछि १५ लाखमा स्कार्पियो गाडी बचेर लगानी गरेको तर, भाका अगावै वेपत्ता भएपछि तनाव भएको चन्द्रगढीका एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताए । उहाँसँग राम्रो सम्बन्ध भएकोले रकम दिएको उनले सुनाए । त्यसैगरि एकवर्षसम्म सटहीको कारोबार गर्ने राउतले विहीबार ४ लाख रुपैयाँ मागेको चन्द्रगढीका एक काउन्टर सञ्चालकले बताए । काउन्टर बन्द भइसकेकोले ३ लाख सापटी स्वरूप दिए । भाका अगावै राउत वेपत्ता भए– उनले भने ।

राउत वेपत्ता भएपछि गएको मङ्गलबार ९ जना लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । मानिसलाई खोजेर छलफल गराइ सापटी रकम फिर्ता गराइ पाउनको लागि संयुक्त रूपमा उजुरी परेकोे जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । तर उनीहरुले पैसा दिएको भन्ने केही प्रमाण छैन् । प्रशासन श्रोतका अनुसार अबैध कारोवारका रूपमा महंगो ब्याजको लोभमा परेर व्यक्तिहरू ठगिएका हुन् । ठग्ने गिरोह कति र कत्रो छ भन्ने कुरा राउतलाई नियन्त्रणमा नलिइ भन्न नसकिने समेत सुरक्षा श्रोतको अनुमान छ ।
व्यक्तिलाई बोलीकै भरमा विश्वास दिलाई करोडौं जम्मा गर्ने राउतले आफूले रकम लिएको प्रमाण भने कही छोडेका छैनन् तर, रकम जम्मा गर्न अर्कै व्यक्तिको बैंक खाता प्रयोग गरेर लाखौं रूपैया लिन सफल भएको पाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *