मुलुकभर भारी वर्षात्, सतर्क रहन आव्हान
Published: (Updated: )
by .झापा। देशभरका २५ जिल्लामा भारी वर्षा भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भारी वर्षात् भए पनि जिल्लामा आपतकालीन अवस्था नआएको बताएका छन् ।
‘यद्यपी झापाको दक्षिणी बेल्टमा वाटर लक भएको छ, तर पानी गाउँ पसेको छैन’ सभापति ढकालले भनेका छन् । पहाडमा पानी परेमात्र झापाको नदीमा पानीको वहाव बढ्ने र बाढीको जोखिम हुन्छ । तर, इलाममा पानी परिरहेको भए पनि क्षति गर्ने गरी उग्र नभएको वर्षा मापन यन्त्रले पनि खतरा हुने अवस्थाको संकेत नगरेको सभापति ढकालको भनाई छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।
यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् । महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै यी २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिएका हुन् । उनले भने, “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ ।’
देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।
देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न जिल्लाका नदी आसपासका क्षेत्रमा बाढी तथा डुवानको खतरा रहने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीहरुमा पनि जलसतह एक्कासी बढ्ने तथा केहीमा खतरा तह पार हुने संभावना पनि भएकाले सतर्क रहने आग्रह गरिएको छ ।
Comments