रोमाञ्चक खेलमा नेपालद्वारा मलेसिया ६ रनले पराजित
Published:
by .काठमाडौं । ब्याट्सम्यानहरूको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मलेशियाविरुद्ध भएको अन्तर्राष्ट्रिय टी-२० शृङ्खला छ रनले जितेको छ।
मलेशियाको किनरारा मैदानमा पहिलो ब्याटिङ गर्दै नेपालले १७३ रनको लक्ष्य आयोजक टोलीलाई दिएको थियो। तर मलेसिया १६७ रनमै समेटिन पुग्यो।
यो जितसँगै नेपालले मलेसियाविरुद्ध खेलिएका दुवै टी २० खेल जित्दै शृङ्खला क्लीन स्वीप गर्ने इतिहास पनि रचेको छ। शनिवार भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी थियो।
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो टी २० शृङ्खला यूएईविरुद्ध खेलेको थियो। सो शृङ्खला नेपाले २-१ ले आफ्नो पक्षमा पारेको थियो। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको इनिङमा विनोद भण्डारी, शरद भेषावकर र कप्तान पारस खड्काको विस्फोटक ब्याटिङ गरे।
सुरुवात कप्तान खड्काले गरेका थिए। अघिल्लो दिन ८६ रनको अविजित पारी खेलेका ओपनर खड्काले दुई छक्का र त्यतिवटै चौका प्रहार गर्दै २३ रन बनाए। उनी आउट भएपछि मध्यक्रमका भरपर्दा शरद भेषावकरले इनिङ सम्हाल्दै चार चौका र दुई छक्का प्रहार गर्दै ४० रन जोडे।
इनिङको समाप्ती भने विनोद भण्डारीको ब्याटबाट भयो। निकै आक्रामक देखिएका भण्डारीले २५ बलमा अविजित ५१ रन जोडे। उनले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए। इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आफ्नो अर्धशतक पूरा गरेका हुन्।
उपकप्तान ज्ञानेन्द्र मल्ल (सात रन) र कप्तान पारस पाँचौ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट भएका थिए। प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले १०, र आउट हुँदा मध्यक्रमका रोहित पौडेलले १९ रन जोडेका थिए। करण केसीले १० बलमा १६ रन बनाए।
Comments