Sajhamanch Archive

मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ मा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा १५ प्रतिशत कम राजस्व असुली गरेको छ ।

भन्सार अधिकारीहरुका अनुसार लक्षित राजस्व संकलन नहुनुको मुख्यः कारण भारतको कोलकत्ताबाट यो नाकाहँुदैं भित्रने कोइला, क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेय पदार्थमा कमि आउनु हो । प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार मेची भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०७५÷२०७६ मा ११ अर्ब ८२ करोड ६१ लाख १ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा १० अर्ब ९ करोड ९५ लाख ७३ हजार रुपैयाँमात्र राजस्व संकलन गर्न सफल भयो । जुन रकम लक्ष्यको तुलनामा १५ प्रतिशले कमि हो ।

अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ मा भन्सारले ९ अर्ब २० करोड ९१ लाख ४१ रुपैयाँ वार्षिक लक्ष्य पाएको भएपनि ९ अर्ब ७४ करोड ३ लाख ६१ हजार रुपैयाँ वा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको थियो । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेयपदार्थले धानेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइला र पेट्रोलियम पदार्थ लगायतले कुल राजस्वको ४०÷४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।

चैतदेखि कोइला र क्लिङ्कर बन्द तथा केही महिनादेखि पेय पदार्थको आयात ठप्प भएकाले कार्यालयको राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको भन्सार अधिकारीहरुको भनाई छ । विभागले दिएको राजस्व असुलीको वार्षिक लक्ष्य पुरा नहुने भएपछि मेची भन्सार कार्यालय काँकरभिट्टा अवैधरुपमा हुने चोरी निकासी नियन्त्रणका लागि गस्ती परिचालन गरेको थियो भने, चेकजाचमा समेत कडाई गरेको थियो । यसअघि व्यवसायिकरुपमा आयात भएका थोरै मुल्यका सामानको भन्सार गर्ने काम यात्रुशाखाबाट भएपनि त्यसलाई समेत बन्द गरेरसवैखाले काम मुख्य भन्सार कार्यालयबाट गरिएको भएपनि लक्ष्य भने भेटाउन सकेन् ।

यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टाकको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालय सोहि आर्थिक वर्षमा मुल भन्सारको रुपमा स्थापित भएका कारण पनि राजस्व असुली कम भएको भन्सार स्रोतको भनाई छ । आर्थिक वर्ष २०७५÷०७६ को असोज महिनादेखि भन्सार विभागले प्रत्येक महिना १ करोड ५० लाख रुपैयाँका दरले दशमहिनाको वा असार महिनासम्म १५ करोड रुपैयाँ लक्ष्य दिएको थियो । उक्त कार्यालयले भने लक्ष्यको तुलनामा ६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार त्यो अवधिमा कार्यालयले १९ करोड १८ लाख ७९ हजार २ सय १५ रुपैयाँ वा १ सय ६ प्रतिशत राजस्व संकलन गरेको छ ।

पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *