कतारसँग नेपाल चार विकेटले स्तब्ध
Published:
by .ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो ।
१२३ रनको लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा जाहीर इब्राहिमले ९ बलमा १२ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए ।
अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । त्यसपछिका विकेट अधिकांश चाँडो गए । कतारका इक्बाल हुसनले तीन तथा तमूर साजद र नूमन सर्वारले दुई–दुई विकेट लिए ।
पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।
यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।
सिंगापुर पुग्नुअघि मलेसियामा अभ्यास गरेको नेपाली टोलीले मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अन्तर्राष्ट्रिय शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।
Comments