Sajhamanch Archive

रुस–चीनको संयुक्त हवाई अनुगमनः कोरिया–जापानले उडाए लडाकू विमान, अमेरिका बेचैन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

रुसले पहिलो पटक चीनसँग मिलेर संयुक्त हवाई अनुगमन अभ्यास गरेको जानकारी दिएको छ । यसको जवाफमा दक्षिण कोरिया र जापानले आफ्नो लडाकू विमानलाई तुरुन्त उडाएको छ  ।

रुसको रक्षा मन्त्रालयका अनुसार चार बमवर्षक विमानले लडाकू विमानको मद्दतमा जापान सागर र पूर्वी चीन सागरमाथि एक पूर्व निर्धारित रुटमा अनुगमन उडान भरेको हो ।

यस्तै, दक्षिण कोरियाले रुसी विमानले आफ्नो हवाई क्षेत्रमा दखल दिएपछि आफ्नो लडाकू विमानले चेतावनी दिँदै गोलीबारी गरेको जानकारी दिएको छ । यस्तै, जापानले यो घटनाक्रमपछि दक्षिण कोरिया र रुस दुबैको विरोध गरेको छ ।

यो घटना विवादित डोकडो–ताकेशीमा द्वीपमाथि भएको हो । यो द्वीपमा अहिले दक्षिण कोरियाको प्रशासन छ तर जापान पनि यसको दाबी गर्छ । हालैका वर्षमा रुसी र चिनियाँ बमवर्षक विमान र जासुसी विमानले यो क्षेत्रमा उडान भरेको छ र तर रुस र चीनबीच भएको यो घटना पहिलो हो ।

रुसले के भन्छ ?

रक्षा मन्त्रालयका अनुसार उसले स्ट्रेटेजिक मिसाइलद्वारा सुसज्जित दुई टीयू–९५ एमएम विमानले दुई चिनियाँ होंग–६ का बमवर्षक विमानसँग एक पूर्व निर्धारित रुटमा तटस्थ जल क्षेत्रमाथि उडान भर्यो ।

यी बमवर्षक विमानसँग लडाकू विमान र जासूसी विमान पनि थिए ।

टिभीमा प्रसारित एक बयानमा लेफ्टिनेन्ट जनरल सर्गेई कोबीलाशले भने, ‘एक समयमा यो अनुुगमन दल एउटा रेखामा एक अर्काभन्दा लगभग दुई मिल टाढा उडिरहेको विभिन्न विमानको दल बन्यो ।’

उनका अनुसार यतिबेला ११ पटक विदेशी लडाकू विमानले उनीहरुको पिछा गरे ।

उनीहरुले दक्षिण कोरियाली पायलटमाथि विवादित द्वीपमाथि खतरनाक क्रियाकलाप देखाएको आरोप लगाए ।

उनीहरुका अनुसार विमानहरुको यो दल डोकडा ताकेशीमा द्वीपभन्दा २५ किलोमिटर टाढा थियो ।

उनीहरुले दक्षिण कोरियाली पाइलटमाथि हावामा हुलदङ्गा गरेको  पनि आरोप लगाए ।

यो गठबन्धनले अमेरिका बेचैन ?

बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कसका अनुसार एशिया प्रशान्त क्षेत्रमा रुस र चीनकामे लामो दुरीका बमवर्षक विमानको यो ‘संयुक्त हवाई अनुगमन’ रुस र चीनबीच बनिरहेको शक्तिशाली सैन्य गठबन्धनको बलियो संकेत दिन्छ ।

यद्यपि, अहिलेसम्म दुई देशले औपचारिक गठबन्धन गरेको छैन तर उनीहरुको साझा अभ्यास ठूलो निकै परिष्कृत छ ।

यी दुई देश, जुनबीच केही विवाद पनि छन्, आर्तिक र सैन्य मोर्चमा एक अर्काको नजिक आइरहेको छ । दुबैको अन्तरराष्ट्रिय दृष्टिकोण पनि एकै छ ।

यो पश्चिमी उदारवादी लोकतन्त्रविरुद्ध हो, यसको विकल्पको मोडललाई  सम्बद्र्धनका लागि आतुर छन्, आफ्नो राष्ट्रिय सम्प्रभुताप्रति निकै रक्षात्मक छन् र अरुको तुलनामा कुनै न कुनै प्रकारको जोखिमयुक्त सवारीका लागि तयार छन् ।

यो अमेरिकाको रणनीतिका लागि ठूलो चुनौती हो । यदि एक मुखर तर पतनतर्फ अघि बढिरहेको रुस र उदयमान चीनबीच सम्बन्ध थप बलियो हुन्छ भने अमेरिकाको चिन्ता त यसै नै बढ्ने निश्चित छ ।

पछिल्ला केही वर्षमा चीन आर्थिक र प्राविधिक पाटोमा अमेरिकालाई  उछिनिरहेको देख्न सकिन्छ ।

दक्षिण कोरियाले के भन्यो ?

दक्षिण कोरियाको सेनाका अनुसार पाँच विमानले मंगलबार बिहान स्थानीय समयानुसार करिब ९ बजे उसको क्षेत्रमा दखल दियो ।

एफ–१५ र एफ–१६ विमानहरुलाई रोक्नका लागि तुरुन्त उडाइयो । सेनाका अनुसार उसले सुरुमा उल्लंघनको क्रममा मसिन गनबाट २८० गोली चलाएको थियो ।

दक्षिण कोरियाले सुरक्षा परिषदमा पनि आफ्नो विरोध दर्ता गरेको छ र परिषदसँग कारवाहीको माग गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘हामीले यो स्थितीलाई निकै गम्भीरता पूर्वक लिएका छौं, यदि पुनः यस्तो भएको खण्डमा हामीले कडा निर्णय लिनेछौं ।’

दक्षिण कोरियाले चीनसामू पनि विरोध दर्ता गरेको छ । यता चीनले भने दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्र उसको नीजि हवाई क्षेत्र नभएका कारण कसैले पनि यहाँबाट उडान भर्न सक्ने बताएको छ ।

जापानको कस्तो छ लेनदेन ?

जापानी सरकारले दक्षिण कोरिया र रुस दुबैविरुद्ध उजुरी दिएको छ ।

किनभने जापान यी द्वीपमा आफ्नो अधिकार मान्छ । जापानको सरकारका अनुसार रुसले उसको हवाई क्षेत्रको उल्लंघन गरेको  छ ।

जापानले दक्षिण कोरियाको प्रतिक्रिया अफसोसजनक भएको बताएको छ ।

के हो हवाई रक्षा पहिचान क्षेत्र ?

एयर डिफेन्ड आइडेन्टिफिकेशन जोन (एडीआईजेड) अर्थात् हवाई रक्षा पहिचान क्षेत्र त्यो हवाई इलाका हो जसको निगरानी कुनै देशले आफ्नो राष्ट्रिय सुरक्षाको उद्देश्यले गर्छ । विदेशी विमानले एयर डिफेन्स जोनमा प्रवेश हुनु पहिले आफ्नो पहिचान घोषणा गर्नुपर्छ ।

यो हवाई क्षेत्र राष्ट्रिय हवाई क्षेत्रभन्दा निकै टाढा हुन्छ ताकि कुनै सम्भावित खतरा हुँदा पर्याप्त चेतावनी जारी गर्न सकियोस् ।

तर एडीआईजेडमा कुनै अन्तरराष्ट्रिय कानून मान्य हुन सक्दैन किनभने स्वनिर्धारित सीमा अन्य देशको दाबीसँग ठोक्किन सक्छ । यसै कारण थुप्रै पटक उल्लंघन पनि हुन्छ ।

पूर्वी चीन सागरमा पनि स्थिती यस्तै छ किनभने त्यहाँ दक्षिण कोरिया, चीन र जापानको हवाई रक्षा पहिचान क्षेत्र एक अर्काको माथि छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *