मोबाइल चार्जमा राखेर गेम खेलिरहेका किशोरको करेन्ट लागेर मृत्यु
Published:
by .मोबाइल चार्जमा राखेर गेम खेलिरहेका एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार राति मोबाइल चार्ज गरेर गेम खेलिरहेका मोरङको लेटाङ नगरपालिका–३ त्रिशुली चोकका १५ वर्षीय शौजन राईको मृत्यु भएको हो ।
मोबाइलमा गेम खेलिरहेको अवस्थामा राईलाई राति करिब १ बजे करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राईको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसी राजकुमार खिइजुका अनुसार शौजन राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । प्रहरीका अनुसार मृतक शौजन खाटको छेउमा सुतेका थिए । राति एक्कासी छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएका थिए ।
चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली बन्द गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ । कुन गेम खेल्दा खेलिरहेको भन्ने नखुलेको प्रहरीले बताएको छ ।
Comments