प्रदेश १ मा घुम्ती प्रयोगशाला, झुम्का र सुरुङ्गाबाट सञ्चालन, माटो परीक्षण गर्न गाउँ–गाउँ पुग्ने
Published: (Updated: )
by .विराटनगर । प्रदेश नम्बर १ सरकारले माटो परीक्षण गर्ने घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको छ । साउनदेखि प्रदेश सरकारले बसमा जडान गरिएको २ वटा घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
माटो तथा मल प्रयोगशाला झुम्का र सुरुङ्गाबाट घुम्ती प्रयोगशाला सञ्चालामा ल्याएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रयोगशालाले गाउँ–गाउँ पुगेर कृषकको चाहाना अनुसार माटो परीक्षण गर्नेछ । कृषकको खेतमै पुगेर माटोको परीक्षण गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए ।
विष्टका अनुसार एक वर्षअघि संघीय सरकारले माटो प्रयोगशाला झुम्काका लागि घुम्ती सेवा सञ्चालन गर्न बस उपलब्ध गराएको थियो । प्रदेश सरकारले ७५ लाख लागतमा थप एक घुम्ती प्रयोगशाला खरिद गरेपछि गाउँ–गाउँमा पुगेर माटो परीक्षण गर्न लागिएको हो । बसमा जडित प्रयोगशाला कृषकले बोलाएका स्थानहरुमा माटो परीक्षण गर्न पुग्नेछ ।
माटो परीक्षण गर्न प्रदेश सरकारले ७५ लाखको लागतमा को १ ग १६० नम्बरको बसभित्र प्रयोगशाला स्थापना गरेको छ । सो बस माटो तथा मल परिक्षण केन्द्र सुरुङ्गामा रहनेछ । ‘कृषकले समूह बनाएर बोलाएको स्थानमा पुगेर माटो परीक्षाण गरी रिपोर्ट दिन्छ,’ सचिव विष्ट भन्छन्, ‘प्रदेश सरकारले परीक्षण किट उपलब्ध गराएका परीक्षण कारण निःशुल्क हुन्छ ।’
कसरी बोलाउने घुम्ती टोली
प्रदेश सरकारले प्रदेश १ का सबै जिल्लासम्म जाने गरी दुईवटा प्रयोगशाला स्थापना गरेको छ । सो प्रयोगशाला कृषकले बोलाएको स्थानसम्म पुग्नेछ । तर, प्रयोगशाला बोलाउनका लागि न्यूनतम १५–२० जना कृषकहरु मिल्नुपर्छ । कुनै गाउँ टोलका कृषक मिलेर खबर गरेको अवस्थामा प्रयोगशाला बोलाएकै स्थानमा पुगेर परीक्षण गरी रिपोर्ट दिनेछ ।
‘दुईवटा गाडीहरु माटो परीक्षण गर्न प्रदेशका सबै स्थान पुग्छन्,’ विष्ट भन्छन्, ‘कृषकले समूह बनाएर खबर गर्नुपर्छ । प्रयोगशालाले परीक्षण गरेकै स्थानमा रिपोर्ट दिन्छ ।’ स्थानीय सरकारले आग्रह गरेको खण्डमा पनि पुगेर परीक्षण गर्ने उनको भनाइ छ ।
घुम्ती प्रयोगशालाले खेत खेतमा पुगेर ६ प्रकारको माटोको परीक्षण गरी फिल्डै रिपोर्ट दिनेछ । प्रयोगशालामा ल्याबका उपकरण, पिएच मिटर, पोटास परीक्षण गरिने फस्फोरस, मेकानिकल सेक्टर, जनेटर, एसीलगायतका उपकरणहरू छन् ।
परीक्षणसँगै सुझाव पनि
माटोको परीक्षणपछि कृषकलाई कुन माटोमा कस्तो बाली लगाउन सकिन्छ भन्ने सुझाव पनि दिनेछ । माटोको उपचार पद्धती पनि सिकाइनेछ । परीक्षण गर्ने टोलीले कृषकलाई माटो अनुसारको खेती गर्नका लागि सुझाव पनि दिनेछन् । कृषिको व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयले जानकारी दिएको छ ।
Comments