Sajhamanch Archive

प्रदेश लेखा समितिको चित्त बुझेन, खर्च विवरण बुझाउन निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

विराटनगर  । एक नम्बर प्रदेशसभाको लेखा समितिले मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजक समितिसँग सम्पूर्ण खर्च विवरण माग गरेको छ । गत असार अन्तिम साता एक नम्बर प्रदेश सरकारको सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा भ्रष्टचार भए–नभएको भन्नेबारे १७ साउनको बैठकमा संयोजक किरण राईले दिएको जवाफले मात्र चित्त नबुझेको भन्दै समितिले सम्पूर्ण खर्च विवरण माग गरेको हो ।

शुक्रबारको बैठकमा अनियमिता र भ्रष्टचारको आरोप छानबिन गर्नका लागि लेखा समितिले मुख्यमन्त्री लिग फुटबल आयोजक समिति संयोजक किरण राईलाई सोधपुछका लागि बोलाएको थियो । सोधपुछका क्रममा संयोजक राईले आफूहरुले कुनै भ्रष्टचार नगरेको र भएका केही सामान्य त्रुटीलाई आगामी दिनमा सच्याउँदै लाने भन्दै समितिको चित्त बुझाउने प्रयत्न गरेका थिए । तर, राईको जवाफबाट चित्त नबुझेको भन्दै सदस्यहरुको आग्रहअनुसार साभापति शिवनारायण गन्गाईंले प्रतियोगतामा को कस्ले के कति रकम बुझेका छन् सबैको विवरण बुझाउन आयोजकलाई निर्देशन गरे ।

शुक्रबार बैठकमा आयोजक समिति संयोजक राईको जवाफपछि लेखासभापति सिंहले भने, ‘तपाईँको जवाफले हाम्रो चित्त बुझेन, खबै खर्च विवरण पेश गर्नुहोला त्यसपछि मात्र हामी छलफल गरेर निष्कर्षमा पुग्न सक्नछौँ ।’ लेखा समिति सदस्यहरु कुशल लिम्बू, कुसुम श्रेष्ठ, अम्बिका थापा, तुलसीप्रसाद न्यौपानेलगायतले चित्त बुझ्दो प्रमाण पेश नभएसम्म छानबिन टुंगोमा पुग्न नसक्ने भएकोले खर्च विवरणको माग गरेर अध्ययन गर्न आवश्यक ठानेका थिए । उनीहरुले प्रतियोगिता सञ्चालनको कार्याविधि निर्माण गर्दा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय पनि चुकेको भन्दै अध्यन गर्नुपर्नेमा जोड दिए ।

एक नम्बर प्रदेश सरकारको १ करोड र एन्फाको ५० लाख रुपैयाँ लगानी गरेर भव्यतासाथ मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता सम्पन्न गर्ने भनिएपनि असार अन्तिमसाता हतार–हतार एन्फाले प्रदेश सरकारको मात्र रकम खर्च गरेर आफ्नो आयोजनामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । तर, एन्फाको नियमविपरीत सदस्य नै नभएका टिमलाई सहभागी गराए खेल सञ्चालन भएको, म्याच फिक्सिङ गरेर विजयी भएको तेह्रथुम जिल्लाको टिमलाई हराएको अनि प्रतियोगितामा आर्थिक भ्रष्टचार भएको भन्दै प्रदेशसभामा सांसदहरुले उजुरी परेपछि लेखा समितिले छानबिन थालेको थियो ।

मुख्यमन्त्री कपमा एन्फाले थप्नु पर्ने पैसा नथपेको, प्रतियोगिताका लागि बजेट समितिको नभइ सोझै एन्फाको खातामा पुगेको अनि विजयी टिमलाई हराएर म्याच फिक्सिङ गरेर अनियमितता गरेको र हतारमा खेल आयोजना गर्ने बहानामा भ्रष्टाचार भएको आयोजक समितिलाई आरोप छ । समितिमा शुक्रबार हाजिर भएका आयोजक समिति संयोजक किरण राईले सबै खेलहरु टाईट नियमअनुसार सम्पन्न गरेको र कुनै फिक्सिङ नभएको दाबी गरे । उनले २२ असारमा सम्पन्न खेलमा पराजय भोगेपछि तेह्रथुम जिल्लाको टिमबिना आपत्ति घर फर्केको तर २५ असारमा एकै चोटी आफूहरुलाई हराइएको भन्दै आयोजकसमक्ष फर्केर उजुरी गर्न पुगेको थियो । तर, आयोजकले चाँही पराजय भोगेकोले नियोजित रुपले प्रतियोगिता बिथोल्ने षडयन्त्र गर्न खोजेको भन्दे छानबिनमा वेवास्ता गरेको थियो ।

मध्य वर्षाको समयमा हतारमा बजेट सक्नकै लागि आयोजना गरेकोले मुख्यमन्त्री कप सफल हुन नसक्दा प्रदेश सरकारको बेइज्जत भएको र भ्रष्टाचार गर्नेहरुले पनि अवसर पाएको सांसदहरुले गुनासो गरेका थिए । तर, संयोजक राईले पहिलोपटक हतारमा मुख्यमन्त्रीकप लिग फुटबल आयोजना गर्नु बाध्यता र कमजोरी भएपनि दुर्गम र सीमान्त क्षेत्रका खेलाडीहरुले अवसर पाएकोले प्रतियोगिता सफल भएको दाबी गरे । आयोजक समिति संयोजक किरण राईले चाँही एक नम्बर प्रदेशका ११ जिल्लामा एन्फा मातहतका फुटबल क्लब भएपनि तेह्रथुम, सोलुखुम्बु र संखुवासभामा क्लब नभएको सोझै खेलकुद समितिहरुमार्फत खेलाडीहरु सहभागी गराइएको जानकारी गराए । उनले कूल १ लाख ८९ हजार रुपैयाँ खर्च भएको र सबै बिल भौचर बुझाउन तयार रहेको समितिलाई जानकारी गराएका थिए ।

कोषाध्यक्ष र लेखापालसँग अर्को पटक बयान

शुक्रबार लेखा समितिको निर्देशनअनुसार मुख्यमन्त्री कप लिग फुटबल समिति संयोजक किरण राई कोषाध्यक्ष र लेखापालसहित फाइल लिएर बैठकमा हाजिर भएका थिए । तर, लेखा समिति सभापति शिवनारायण सिंहले पहिले संयोजकसँग सोधपुछ गर्ने भन्दै कोषाध्यक्ष र लेखापाललाई बैठकमा निषेध गरे । बैठकमा प्रतिवेदनको फाइल लिएर पुगेका संयोजक राईले सभापतिसँग आग्रह गरे, ‘एकाउण्डटेन्ट र कोषाध्यक्षलाई पनि बोलाउँकी हजुर ?’ र, सभापति सिंहले आदेश गरे, ‘पर्दैन पहिले तपाईँ मात्र जावाफ दिने हो, आवश्यक परेपछि हामी बोलाउने छौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *