Sajhamanch Archive

यस्ता छन् स्तनपानसम्बन्धी रोचक तथ्यहरू

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रियालाई स्तनपान भनिन्छ । आमाले बच्चा जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । आमाको स्तनको पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, जसलाई कोलोस्ट्रम भनिन्छ ।

यसको सेवनले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाएर संक्रमण हुनबाट जोगाउँछ । स्तनपानलाई परिवार नियोजनको मायध्मको रूपमा पनि लिन सकिन्छ । स्तनपानसम्बन्धी केही रोचक तथ्यहरु यस्ता छन्ः

शिशु जन्मेको ३० मिनेट देखि ६० मिनेटको अवधीमा सबैभन्दा बढी सक्रिय रहने भएको कारणले यस बेला शिशुमा दूध चुस्नेको शक्ति सबैभन्दा बढी हुने गर्छ । जन्मेदेखि ३ दिनसम्मको शिशुको पेट निकै सानो हुन्छ । यो अवधीभरिमा शिशुको पेटमा ५ देखी ७ एमएल मात्रै दूध अट्ने भएका कारण त्यति दूध भए पनि शिशुलाई पुग्ने हुन्छ ।

नवजात शिशुको शरीर दिनहुँ बढ्दै जान्छ । त्यसैले ३ देखि १० दिन बीचको शिशुले पेटमा २२ देखि २७ एमएल दूध अटाउन सक्ने हुन्छ । र, यसबेला शिशुलाई त्यति मात्रामा स्तनपान गराए पुग्छ । १० दिनको शिशुको पेट केही ठूलो भइसकेको हुन्छ । त्यसैले यस बेलामा शिशुको पेटमा ६० देखि ८१ एमएलसम्म दूध अटछ् । आमाहरुले बच्चाको पेटमा अट्ने दूधको सोहीअनुसार स्तनपान गराउनुपर्छ ।

आमाले शिशुलाई एक पटक स्तनपान गराउँदा १५ देखि २० मिनेट समय दिनुपर्छ । सो अवधीमा पर्याप्त दूध पाएको शिशु अघाइसकेको हुन्छ र विस्तारै चुस्नसमेत छोड्ने गर्छ । शिशुले दूध चुस्दा आमाको स्तनबाट सुरुमा पातलो दूध निस्कने गर्छ ।

पहिलो आउने पातलो दूधले बच्चाको तिर्खा मेट्ने काम गर्छ । र, विस्तारै पछि आउने बाक्लो दूधले भने बच्चाको भोक मेटने काम गर्छ । नवजात शिशुलाई सकेसम्म दुई–दुई घण्टामा दूध खुवाउनु राम्रो मानिन्छ । नत्र, तीन घण्टाको फरकमा त खुवाउन निकै आवश्यक पर्छ । रातिको समयमा पनि आमाहरुले दुई–तीन घण्टाको फरकमा बच्चालाई दूध खुवाई राख्नु पर्छ । छिटो स्तनपान गराउँदा यसको सफलतादर बढी हुन्छ ।

स्तनपान तत्काल सुरु गर्दा शिशुलाई मात्रै नभएर आमालाई समेत फाइदा पुग्ने हुन्छ । स्तनपान गराउदा सुत्केरी हुँदा हुनसक्ने अधिक रक्तश्राव तथा स्तन सुन्निन सक्ने सम्भावना कम हुन्छ । त्यसैले पनि सकेसम्म छिटो अर्थात् एक घण्टा भित्र नै स्तनपान गराउन राम्रो मानिन्छ । शिशुलाई जन्मेदेखि कम्तीमा छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्छ । आमाको दूध शिशुको लागि सुपाच्य भएका कारण यसले पेटमा हुनसक्ने गडबडीलाई समेत रोक्ने गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *