कांग्रेसी मेयरले एकलौटी गरेको भन्दै नेकपाका पाँच वडाध्यक्षद्वारा राजीनामा
Published:
by .बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
प्रचलित नीति नियम र ऐन कानून विपरीत नगर प्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीवार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट जितेका ५ वडाध्यक्षले राजीनामा पेश गरेको वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए ।
विधिविपरीत नगर प्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार विकले बताए ।
समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक संगठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।
नगर प्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनदेखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नम्बर २ का अध्यक्ष डम्मर महतको भनाइ छ । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ । स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन ।
Comments