परिवार पाल्ने छोरालाई क्यान्सर भएपछि आमाले गरिन सहयोगका लागि अपिल
Published:
by .भद्रपुर। बुबाको निधनपछि आमासहित भाइबहिनीलाई पाल्दै आइरहेका किसन दास क्यान्सर रोगबाट ग्रसित भएर थला परेका छन् । भद्रपुर नगरपालिका ८ स्थित फुलबारी टोल बस्ने २६ वर्षीय दासको मलद्वारमा क्यान्सर रोग लागेको हो ।
क्यान्सर लागेर अस्पताल भर्ना भएपछि उनका परिवार अहिले बिचल्लीमा परेका छन् । मधेसी समुदायका किसनका परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएकोले सहयोगका लागि सबै समक्ष अपिल गरेका छन् ।
६ वर्षअघि बुबाको निधन पश्चात् परिवार पाल्न भनी पढाई छाडेर किसन वैदेशिक रोजगारीका लागि सन् २०१५ मा दुबई गएका थिए । आमाले ऋण लिएर दुबई पठाएका किसन दुई वर्षपछि अर्थात् सन २०१७ मा घर फर्किएका थिए ।
त्यस बेला विदेशमा कमाएको पैसाबाट उनले आमाले लिएको ऋण तिरे र केही रकम जुटाए । सन् २०१७ मा फेरि किसन वैदेशिक रोजगारीका लागि दुबई पुगे, तर, त्यस बेला उनी त्यही बिरामी परे ।
बिरामी भएपछि किसन घर फर्किए । घर फर्किएर उनले चेक जाँच गर्दा उनलाई क्यान्सर भएको थाहा भयो । दुई वर्षअघि देखि क्यान्सर पीडित बनेका छोरा किसनको उपचारमा अहिलेसम्म १५ लाख बढी खर्च भइसकेको उनका आमा सुनिताले बताइन् । ‘परिवार पाल्ने छोरालाई नै क्यान्सर रोग लागेको थाहा पाएपछि उपचारका लागि काठमाडौँस्थित नेपाल क्यान्सर अस्पताल लगियौं । उनका आमा सुनिताले भनिन्, ‘त्यहाँ केही दिन उपचार गराएको र रकम सकिएपछि छोरालाई लिएर घर फर्कियौ ।’ ‘त्यसपछि यहाँ ल्याएर पटक पटक छोराको उपचार जसो त्यसो ऋण र सापटी मागेर गर्दै आइरहेका थियौ’, उनले थपिन ।
पैसा सकिएपछि छोरा किसन घरमै थला परे, मलद्वार सुनिएर दिसा पिसाब रोकिँदा पेट सुनिएको दुःखका घटना सुनाउँदै आमा सुनिताले भनिन्, ‘त्यसपछि चार धुर जग्गा बैङ्कमा राखेर फेरि ऋण निकालेर छोरालाई मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरायौं । अस्पतालका चिकित्सकले पेटबाट दिसा पिसाब निकाल्ने बाटो बनाइदियो ।’ अहिले छोराको उपचार मेचीमै भइरहेको उनले बताइन् । छोरालाई क्यान्सर रोग भएपछि सात वर्षको नाति लिएर बुहारी माइती गइसकेकी छिन् । ‘यता छोरा क्यान्सर भएर थला पर्र्नु, उता बुहारीले नाति लिएर घर छाडेर जानु, यस्तो पीडा कसैलाई नपरोस’, उनले भनिन् । छोराको उपचारका लागि सहयोग गरिदिनुहुन उनले सबै समक्ष आग्रह हात फैलाएकी छिन् ।
बिर्तामोड ४ स्थित गङ्गामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्था किसन दास बचाउ अभियानमा जुटेका छन् । अर्थ र चेतनाको अभावमा स्वास्थ्यको कारण कोही पनि नेपालीको मृत्यु हुनु हुँदैन भन्ने सङ्कल्प लिएर किसन दास बचाउ अभियानमा लागेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए । मेची अस्पतालमा उपचार भइरहेका किसनको स्वास्थ्य अवस्था देखाउँदै पत्रकारहरू समक्ष बस्नेतले भने, ‘किसनलाई बचाउ अभियानमा हामी जुटेका छौ, यसका लागि आर्थिक सङ्कलन सुरु गछौं ।’ ‘क्यान्सर रोग बिरामीको क्षेत्रमा काम गर्दै आइरहेको यस संस्थाले अहिलेसम्म ९५ जनाको उपचार गराइसकेको छ, उनीहरूको उपचारमा ६५ लाख बढी खर्च गरिसकेका छौ’, उनले भने । अब यो संस्था किसनलाई बचाउन लागिपरेको उनको भनाई छ ।
यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरिदिनुहुन सबै समक्ष उनले अपिल गरेका छन् । किसनको सहयोगका लागि ९८४२६५२५१२ र ९८०३०४१४३१ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
Comments