एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती
Published:
by .बिर्तामोड । एनएमसी डेरीले किसानको दूध नकिनिदिएको, कर्मचारीलाई दूधको गुणस्तरको गलत तथ्याङ्क राख्न लगाएकोजस्ता अफवाह फैलाउने शरणामतिका केही मानिसको दुष्प्रचार खेती छिट्टै अनुत्पादक हुने दावी गरिएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसीको रचनात्मक अभियानमाथि नकारात्मक सोच भएका केही मानिस, जो संस्थामा सदस्य पनि छैनन्, उनीहरुले शरणामतिमा यस्तो अफवाह फैलाउँदै आएको प्रष्ट पारेको हो ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले ‘एनएमसीमा सबै कुरा पारदर्शी तरिकाले सदस्यमाझ प्रवाह हुने गरेको जानकारी गराउँदै शरणामति फण्डा पनि स्थानीय केहीको खेती भएकाले केही समय पछि स्वतः निराकरण हुने’ प्रष्ट पारेका हुन् ।
एनएमसी डेरी सञ्चालनको पाँचौं वर्षसम्ममा जमिन बाहेक संरचना र औजारमा १५ करोड ५८ लाख रुपैयाँ लगानी भइसकेको जानकारी गराउँदै अध्यक्ष उप्रेतीले चालू आर्थिक वर्षदेखि सञ्चालन मुनाफा आर्जन गर्ने अवगत गराए ।
गतवर्ष मिल्क होलिडे गर्न बाध्य भएको डेरी उद्योगमा यो वर्ष यस्तो समस्या नआएकाले किसानले उत्पादन गरेको दूधको एसएनएफ र फ्याटको गुणस्तरका आधारमा प्रतिलिटर ४० देखि ७० रुपैयाँसम्म भुक्तान गरिरहेको जानकारी दिए ।
एनएमसी डेरीले दूध नकिनिदिएर किसानलाई मर्का परिरहेको छ भन्ने गुनासोबारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष उप्रेतीले भने, ‘कुनै पनि डेरी उद्योगले घरघरमा गएर दूध संकलन गर्न सम्भव छैन, या त किसानले या त संकलकले तोकिएको चिस्यान केन्द्रमा ल्याएर परीक्षण गर्दा गुणस्तरयुक्त दूध भएमा हामी किन्छौं, किनिरहेका छौं ।’
संस्थाका वरिष्ठ उपाध्यक्ष तथा डेरी व्यवसाय समितिका संयोजक नारायणप्रसाद कोइरालाले स्वागत गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले एनएमसीको वित्तीय क्षेत्रबारे प्रष्ट पारेका छन् ।
उनले एनएमसीमा बचतकर्ताहरुलाई न्यूनतम् ९ प्रतिशतदेखि अधिकतम् १२.५ प्रतिशतसम्म ब्याज दिइरहेको तथा कर्जामा अधिकतम् १४ प्रतिशत व्याज लिइने गरेको जानकारी दिए । बैंकिङ व्यवसायलाई अझै प्रतिष्पर्धी बनाउन यही भदौ महिनादेखि लागू हुनेगरी कर्जामा १ प्रतिशत ब्याजदर घटाइएको पनि उनले बताए ।
सहकारी विभागले हालै तोकिदिएको १६ प्रतिशतको सिलिङभन्दा एनएमसीमा कम रहेको प्रष्ट पार्दै प्रमुख कार्यकारी अधिकृत उप्रेतीले स्प्रेड दर पनि ४.२५ हाराहारी रहेको जनाए ।
गत आर्थिक वर्षमा एनएमसीले २२ करोड २५ लाख रुपैयाँ हाराहारी सञ्चालन मुनाफा गरेको अवगत गराउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले १२ देखि १४ प्रतिशतसम्म शेयर लाभांश वितरण गर्न सकिने अवस्था रहेको बताए ।
२५ वर्ष पूरा गरी २६औं वर्षमा यात्रारत एनएमसी बहुव्यवसाय गर्ने नेपालकै उदाहरणीय संस्था हो । सो संस्थाले बचत तथा ऋणको कारोबार (बैंकिङ व्यवसाय), डेरी उद्योग, नमूना कृषि परियोजना र सहकारी पसल सञ्चालन गर्दछ ।
हाल पाँचौ वर्षमा यात्रा गरिरहेको डेरी उद्योगमा अझै १४ लाख घाटापूर्ति गर्न बाँकी रहेको छ भने नमूना कृषि परियोजना र सहकारी पसल सञ्चालन गरेको एक वर्ष पनि नभएकाले यसले तत्काल नाफा आर्जन गर्न नसक्ने जनाइएको छ । संस्थाको पहिचान र सदस्यको आवश्यकता पूरा गर्न ती संस्थाहरु सामाथ्र्यवान बन्दै गएकाले केही वर्षदेखि नाफामा लान सकिने अध्यक्ष उप्रेतीले बताएका छन् ।
Comments