Sajhamanch Archive

भारतमा आर्थिक मन्दी आउने चेतावनीसँगै विदेशीले लगानी फिर्ता लान थाले

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

अहिले भारतीय मुद्रा घट्दो क्रममा रहेको छ । भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ ।

भारुले यो वर्ष जति पनि वृद्धि हासिल गरेको थियो त्यो यही एक महिना (अगस्ट) भित्र नै गुमेको छ । यो महिना भारु ६ वर्ष यताकै सबैभन्दा खराब मासिक ह्रास सामना गर्ने मार्गमा छ, हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारुको हालसम्मको सबलताको अन्त्य भएको देखिएको छ । केही विज्ञले भारुको समस्या झनै बढ्ने चेतावनी दिएका छन् । यसले आर्थिक मन्दी आउने देखिन्छ ।

तर भारतको आर्थिक मन्दी भारत एक्लैले मात्र सामान गर्नुपर्ने होइन त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने विज्ञहरु औँल्याउँछन् । नेपाल सबैभन्दा बढी परनिर्भर भारतसँगै छ । हाल भन्सारबाट आउने र खुला सिमानाबाट आउने सामानहरु गरी ८० प्रतिशत  आयात हुने गरेको भनिएको छ । यसकारण पनि भारतको महँगी नेपालले पनि बेहोर्नुपर्छ ।

भारतको अर्थतन्त्र खराब हुनुको कारण

आर्थिक वृद्धिमा आएको कमी : निजी उपभोगले भारतको कुल ग्राहस्थ उत्पादनमा ६० प्रतिशत हिस्सा ओगट्छ । अहिले आएर भारतको कारदेखि कुकिजसम्मको मागमा उल्लेख्य गिरावट देखिएको छ, जसले आर्थिक वृद्धिमा कमी ल्याइरहेको छ ।

इक्विटी बहिर्गमन : विदेशीहरुले जुलाई यता भारतको अर्थतन्त्रबाट ३.८ अर्ब अमेरिकी डलर फिर्ता लगेका छन् । कारणः अति धनीलाई लगाइएको कर दरमा वृद्धि र अमेरिका–चीनको व्यापार विवादको असर भारतमा पनि पर्ने अनुमान हो ।

ठूलो विदेशी रकम बाहिर्गमनको असर भारुमा परेको छ । चिनियाँ मुद्रा युआन अमेरिकी डलरको तुलनामा निरन्तर ह्रास आउँदा भारु युआनसँगै ह्रास आइरहेको छ ।

विगत नौ महिनाको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष अगस्टमा मुद्रा ह्रास अन्यमा भन्दा बढी भएको देखिएको छ । यो वर्ष भने त्यसमा झनै बढी देखियो ।

भारतीय अर्थतन्त्रले आगामी केही महिना अझै मन्दी सहनुपर्ने विश्लेषण भइरहेको छ ।  द वायरलाई आधार मान्ने हो भने  भारतको आर्थिक मन्दी एन्ड्रयु टिल्टन नामक उनको हालैको सहलेखकको रिपोर्टमा उनको प्रमुख एसिया प्रशान्त अर्थशास्त्रीले यस्तो मन्दी कम्तीमा एक चौथाइभन्दा बढी समय रहने अनुमान गरेका छन् । कमजोर वैश्विक बृहत् आर्थिक स्थिति र नकारात्मक राज्यकोषका कारण आर्थिक गतिविधिमा नकारात्मक असर परेको मानिँदै आएको छ ।

आर्थिक वर्ष २०२० आर्थिक गतिविधिका लागि सन्तोषजन वर्ष नहुने पनि भनिएको छ । उपभोक्ता सूचकाङ्कको कमजोरीले पनि निरन्तरता पाउने देखिएको छ ।

ग्लोडम्यान स्याक्स जो भारतका वित्तीय इक्विटी विश्लेषक हुन् । उनले आर्थिक मन्दी २०१८ बाट सुरु भएको र यसको प्रमुख कारण भनेको पूर्वाधारको लिजिङ र वित्तीय सेवा रहेको उल्लेख गरेका छन् ।  जब जीएसटी (गुड्स एन्ड सर्भिसेस ट्याक्स)  लागू भयो त्यसले सन २०१७/१८ को तेस्रो त्रैमासबाट नै मन्दी सुरु भयो र त्यस्तो मन्दी १८ महिनासम्म रह्यो । यो सन् २००६ पछिको आर्थिक सुस्ततापछिको सबैभन्दा लामो समयसम्मको मन्दी हो । अटोमोबाइलको बिक्री खपतमा आएको गिरावटले पनि मन्दी सिर्जना भएको छ । अन्य सूचकहरु हवाइयात्री, राजस्व सङ्कलन, टिकाउँ र गैर टिकाउ उपभोक्ता वस्तुहरुको बिक्रीले पनि प्रभाव पार्छ । कुल मन्दीको १७ प्रतिशत योगदान अटोमोबाइलको रहेको छ ।

भारतको मन्दी नेपालमा सर्छ ?

भारतबाट सियोदेखि ठूलाठूला सामानसम्म आयात हुन्छ । अर्थविद् तथा राष्ट्र बैङ्कका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेपालको धेरै व्यापार भारतसँग भएकाले उसको मूल्य वृद्धिको केही अंश नेपालले पनि बेहोर्दै आएको बताउँछन् । भारत खुला सिमाना, रोटी बेटीको सम्बन्ध जस्ता कारण भारतको कुनै पनि कुराले नेपालमा प्रत्यक्ष असर गर्ने उनको तर्क छ । भारतमा आर्थिक मन्दी आउँदा मुद्रा कमजोर हुने र सामानहरु महँगिने हुन्छ । यसले नेपालको ब्यापार घाटा झन बढ्न सक्ने क्षेत्री भन्छन् । उनी भन्छन्, ‘यदि नेपाल बलियो र लगानीमा राम्रो प्रतिफल दिने मुलुक भएको भए भारतमा मन्दी आउँदा त्यहाँ लगानी गर्नेले लगानी झिकेर नेपाल ल्याउने सम्भावना हुन्थ्यो  तर त्यस्तो पनि हुन सकेको छैन ।’

यता अर्का अर्थविद् केशव आचार्य भारतमा मन्दी आउनु नेपालका लागि पनि खतरा भएको बताउँछन् । भारतको रुपैयाँ कमजोर हुँदा अमेरिकी डरलको मूल्य आकाशिने र त्यसले विदेशी ऋणमा, विद्युत प्राधिकरणले खरिद गर्ने विद्युतमा पर्ने आचार्यको तर्क छ । उनी भन्छन्, ‘भन्सारको रेकर्ड हेर्ने हो भने दुइतिहाइ व्यापार भारतसँग छ । हामी आफै पनि बोर्डर पारि गयौँ भने केही न केही ल्याउँछौँ । त्यो रेकर्डमा नरहला । तराईतिर नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँमा बचत हुन्छ । अनि भारतीय मन्दी नेपालमा सर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *