Sajhamanch Archive

नेपालमै पहिलो पटक सताक्षीधाममा १०८ कुण्डको कोटीहोम

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरि नेपालमा पहिलो पटक गौ संरक्षणका लागि कोटीहोम हुने भएको छ । गौ संरक्षणका लागि यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

यस अघि झापाको कनकाई नदिको पूर्वीतटीय क्षेत्रमा स्वर्गीय योगी नरहरी नाथले २०४२ सालमा ५ कुण्डको कोटीहोम आयोजना गरेका थिए । अहिले सो क्षेत्रको नाम कोटीहोम रहन गएको छ । झापाको सताक्षीधाममा आयोजना गर्न लागिएको कोटीहोमको कुण्डीय महत्वका आधारमा नेपाल मै पहिलो र ठुलो मानिएको अन्तर्राष्ट्रिय विद्धत परिषदका अध्यक्ष घनश्याम खनालले दावी गरे । कोटीहोमले पर्यावरणलाई शुद्ध गर्ने धार्मीक विश्वास छ ।

जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित माहाभारत इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको स्थानीयबासीले जनाएका छन् । सताक्षीधाममा स्थापित गोलोक गोवद्र्धन गौसालाका संरक्षक तथा पिठाधिस नन्दकिशोर भारद्धाजले कोटीहोमको आयोजना गर्न लागेको परिषदका अध्यक्ष खनालले जानकारी दिए । कुण्डहरु १५० वर्ग फिटमा हुने छन् ।

श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद्देवीभागवत कथा महोत्सव नाम दिएको उक्त कार्यक्रम कार्तिक २७ देखी मंसिर ९ सम्म (तेह्र दिवसीय) हुने आयोजक गोलोक गोवद्र्धन गौशालाका पिठाधिस नन्दकिशोर भारद्धाजले बताए । सडकमा यत्र तत्र रहेका, घर गाँउका स्थानीयले पालन पोषण गर्न नसकेका, रोगी, बृद्धगाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि कोटीहोम हुन लागेको हो ।

सरकारको कार्यक्रम पनि सन २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने गरि तयारी भईरहेका बेला सताक्षीधाममा आयोजना हुन लागेको कोटीहोमले सरकारी कार्यक्रमलाई साथ र सहयोग पुर्याएको स्थानीयबासी बताउछन् । बुधबार गौशालाका पिठाधिस भारद्धाजले १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई कोटीहोमका बारेमा जानकारी दिए । मुख्य मन्त्री राईले झापाको सताक्षीधाममा साधु सन्तको आगमनले अव त्यस क्षेत्रले मुर्तरुप पाउने बिश्वास ब्यक्त गरे । मुख्य मन्त्री राईले भने, ‘१ नम्बर प्रदेशले सताक्षीधाममा आयोजना हुने कोटीहोमलाई खुलेर सहयोग गर्ने छ ।’

आयोजक संस्थाले कोटीहोम संचालनका लागि आवस्यकीय भौतिक पूर्वाधार लगायतका अन्य संरचना निर्माण गर्न शुरु गरेको छ । यसै साता भित्र संरचना निर्माण लगायतका अन्य कामले मुर्तरुप पाईसक्ने पिठाधिस भारद्धाजले जानकारी दिए ।

कोटीहोममा नेपाल लगायत भारत, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, न्युजिरल्याण्ड, कुवेत लगायतका मुलुकमा प्रचार प्रसारलाई तिव्र पारिएको छ । आयोजकले नेपालबाहेक बिश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दावी गरेको छ । यस्तै नेपालका डेढलाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजकले दावी गरेको छ ।

कोटिहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सवैभन्दा धेरै खर्च चरु २७ हजार किलो ग्रामको ७१ लाख हुने बताइएको छ । विहीबार सताक्षीधाममा कोटीहोमका लागि भुमी पुजन गरियो । सुनको हलोले दुई फिट वर्गाकार जमिन जोतेर कोटीहोमका लागि भुमी पुजन गरिएको हो । सो कार्यक्रममा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले हिन्दु परम्परा अनुसार पुजा गरिएको भुमीमा हनुमानको झण्डा गाडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *